२ कार्तिक २०८१, शुक्रबार 1729286161
Banner

रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् । मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् । झाले जुम मिटिङ बोलाएका छन् । ‘सबै जिल्ला, पालिका, वार्डको जिम्मेवारी रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको मेसेजमा भनिएको छ ।

सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाएको साहले मेसेजमा लेखेका छन् । साँझ ५ बजे बोलाइएको मिटिङमा प्रदेश समिति, जिल्ला संयोजक, उप संयोजक, पालिका समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश विभागका सदस्यहरुलाई आमन्त्रण गरिएको छ । लुम्बिनीका महामन्त्री नीलराज अधिकारीले पनि प्रदेश समितिको आकस्मिक बैठक बोलाएका छन् । कुनै पनि बेला सभापति रवि लामिछानेलाई सरकारले पक्रन सक्ने कार्यकर्तालाई मेसेज गरेका छन् । पुराना राजनीतिक दलका मुठ्ठीभर दलालहरुले आफ्नो राजनीतिक रोटी सेक्न गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेको जनाउँदै प्रदेश महामन्त्री अधिकारीले तयारी अवस्थामा रहन मातहतको संरचनामा सर्कुलर जारी गरेका छन् ।

सबै जिल्लाका तत् तत् जिम्मेवारीका नेतृत्वहरु तयारी अवस्थामा बसौं र आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नपर्ने भएकाले आवश्यक तयारी अवस्थामा रहन सूचित गरिन्छ,’ अधिकारीको सकुर्लरमा भनिएको छ । अधिकारीले शुक्रबार राति ८:३० बजे जुम मिटिङ बोलाएका छन् । पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले केन्द्रीय कार्यालयमा भेला हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा संग्रौला लेख्छिन्,‘काठमाडौ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भैदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा बस्नु होला ।’ काभ्रेका रास्वपा सभापति प्रविन कुमार ढकालले पनि केन्द्रीय कार्यालयमा भेला हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टी शुभेच्छुकलाई भनेका छन्,‘मिडिया ट्रायल गरेर पार्टी सभापति माथि प्रतिशोध साँध्न खोजेको स्पष्ट देखिन्छ ।’