३ कार्तिक २०८१, शनिबार 1729361629
Banner

रवि पक्राउ सरकारको कुण्ठा र प्रतिशोध : मनिष झा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ । शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताए ।

सहकारीकाे रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र त्यसमा उनको संलग्नता रहेको आशंकामा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सहकारी वचत अपचलन संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाएको तर सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई मात्र उछालेको उनले बताए ।

‘एउटामा मात्र लक्षित हुँदै गर्दा, यो क्षेत्रगत समस्यामा सरकारको प्राथमकिता छैन, यो एउटा कुण्ठा हो, प्रतिशोध हो’, उनले भने, ‘यो त १ प्रतिशत पनि होइन, ९९ प्रतिशतको किन चर्चा गर्नुहुन्न ?’ रविलाई पक्राउ गरेर प्रधानमन्त्रीले आफ्नो कुण्ठा मात्र पोखेको सहप्रवक्ता झाले बताए । सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग गर्न तयार रहेको बताए ।

‘समग्रमा हेर्नस्, हामी कानुनी रुपमा सहयोग गर्न तयार छौं, प्रहरीलाई सहयोग गर्छौं, अदालतलाई सहयोग गर्छौं, तर त्यहाँ कुनै सुनियोजित रुपमा बदमासी भयो भने हामी चुप लागेर बस्दैनौं’, सहप्रवक्ता झाले बताए । रवि पक्राउको विरोधमा रास्वपा समर्थकहरुले शनिबार पोखरामा प्रदर्शन गरेका छन् ।