७ कार्तिक २०८१, बुधबार 1729718151
राजनीति

कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सेवा लिन सक्ने व्यवस्था गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सेवा लिन सक्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । उनले सरकारी कार्यालयमा कामका फाइलहरु अड्काउने, कामको समयावधि लम्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितिबाट मुक्त गर्न क्युआर कोडमार्फत फाइल ‘मुभमेन्ट ट्र्याकिङ’ गर्ने प्रणाली परीक्षणका रुपमा सुरुवात भइसकेको बताए ।

‘अब तपाईले सरकारी अफिसमा हुने तपाइको आफ्नो कामको जानकारी मोबाइलबाटै पाउनु हुनेछ । कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिन सक्ने व्यवस्था गर्दैछौं । यसले सेवा प्रवाहमा हुादै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

बुधबार सरकारको एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सरकारले सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट कम गराउन नागरिक सेवलाई अनलाइन प्रणालीमा लैजाने प्रयास गरिरहेको बताए ।

‘अब सवारी चालकले ट्रायल पास गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउने छन् । सवारी नियम उल्लंघनको जरिवाना तिर्दा अब जहाँ नियम उल्लंघन भएको हो, सोही स्थानमा जरिवाना भुक्तानी गर्न सकिने सजिलो व्यवस्था सरकारले गरेको छ । लगानीकर्ताको भौतिक उपस्थितबिना कुल पूँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको छ,’ प्रधानमन्त्रीले भने ।

सरकारले नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ‘ट्रयाकिङ्’ प्रणाली लागू गरेको र नेपालभरका २६७ वटा मालपोत कार्यालयमा ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त नागरिकले लाइनमा नबसी सेवा प्राप्त गर्ने गरि व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।