९ कार्तिक २०८१, शुक्रबार 1729865728
शिक्षा /स्वास्थ्य

शनिबार हात्तीवनमा सिद्धान्तकेन्द्रित राष्ट्रिय संगोष्ठी आयोजना गरिने

काठमाडौँ । ललितपुरस्थित हात्तीवनमा शनिबार (१० कात्तिकमा) ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी आयोजना गरिँदै छ । यस सिद्धान्तको सान्दर्भिकताबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले काठमाडौँ विश्वविद्यालय परिसरमा संगोष्ठी आयोजना गरिएको आयोजक संस्था सहृदयता समाज नेपालले जानकारी दिएको छ । संगोष्ठीमा विभिन्न विश्वविद्यालयका विद्यावारिधि (पीएचडी) शोधार्थीहरू सहित २४ जनाले अनुसन्धानपत्र प्रस्तुत गर्दैछन् । संगोष्ठीको उद्घाटन प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गर्नेछन् भने काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज–वक्तव्य (कीनोट स्पीच) दिनेछन् ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टीएन जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने र डिभाइन पाथ इन्टरनेसनलकी अध्यक्ष, योगाचार्य एवं समाजशास्त्री योगिनी सरितानन्दीले मन्तव्य दिनेछन् । संगोष्ठीको समापन सत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक एवं विश्व संस्कृत दिवस कार्यपरिषदका अध्यक्ष प्रा.डा. माधवप्रसाद पाण्डेय र सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर् लाइफ अभियानका अभियानकर्ता डा. हरिचन्द्र कमलीले मन्तव्य दिनेछन् । संगोष्ठीमा दुईवटा सत्रहरूमा प्यानल डिस्कसन (विद्वत् विमर्श) हुनेछन् । विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता तथा पेसाकर्मीहरूले स्थितिगत्यात्मक प्रगतिवादका विभिन्न आयामहरूबारे विचार विमर्श गर्ने गर्नेछन् ।

काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख, जरोकिलो महाअभियानका संकल्पकर्ता एवं सिद्धान्तकार डा. निर्मलमणि अधिकारीले वि.सं. २०७६ सालमा नौवटा प्रवचन–शृङ्खलामार्फत ‘स्थितिगत्यात्मक प्रगतिवाद’ सिद्धान्तको व्याख्या गरेका थिए । वैदिक दर्शनका आधारमा डा. अधिकारीले सामाजिक–सांस्कृतिक एवं अर्थ राजनीतिक दृष्टिकोणबाट समाज विकासको सिद्धान्त प्रस्तुत गरेका हुन् । यसबारे विभिन्न भाषामा पुस्तकहरू, अनुसन्धानपत्र तथा लेखहरू प्रकाशित भइसकेका छन् । ‘स्थितिगत्यात्मक प्रगतिवाद’ सिद्धान्तमा केन्द्रित भई नेपाल र विदेशमा पनि धेरै अनुसन्धाताहरूले अनुसन्धान गर्दै आएका छन् । यो सिद्धान्तको प्रयोग गरी सम्पन्न भइसकेका अनुसन्धानका निष्कर्ष सार्वजनिक गर्नुका नयाँ अनुसन्धानलाई प्रवर्द्धन गर्न संगोष्ठीबाट थप योगदान पुग्ने अपेक्षा गरिएको साउथ एसियन युनिभर्सिटीका पीएचडी शोधार्थी एवं संगोष्ठीका संयोजक टेकराज कोइरालाले बताए ।