४ मंसिर २०८१, मंगलबार 1732028832
Banner

निर्वाचन सुनिश्चितको माग गर्दै क्रान्तिकारीका नेताहरू आमरण अनसन बस्दै

काठमाडौँ । स्थगित बन्दसत्र मङ्सिर २३ गते नै सुरु र नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरूले आजदेखि आमरण अनसन बस्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजेदेखि अनसन सुरु हुने निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए ।

स्थगित सम्मेलन सुचारु गर्न नेतृत्व तहमै अलमल देखिएपछि आमरण अनसन बन्न लागेको रावलले बताए । उनका अनुसार रावलसहित निवर्तमान उपमहासचिव प्रभाकर गुप्ता, निवर्तमान केन्द्रीय सदस्यहरू खकेन्द्र रावल र जनक ढुङ्गाना अनसनमा बस्नेछन् । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मेलन उमेरहद लगाउने कि नलगाउने विवादका कारण बन्दसत्र स्थगित भएको थियो । पार्टी नेतृत्वसँगको छलफलपछि मङ्सिर २३ र २४ गते सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको थियो ।