काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । थापाले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका थिए । उनले जेनजी आन्दोलन र रास्वपामाथि कटाक्ष गरेका थिए ।

पौडेले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपाको दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ उनले फेसबुकमार्फत भनेका छन् । पौडेलले थापाको उक्त अभिव्यक्तिप्रति भोलिको केन्द्रीय समितिको बैठकमा छलफल र निर्णय हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।
उनले थप भनेका छन्, ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’
उनले जेनजी आन्दोलन, नेपाली सेना र सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठाएका थिए । ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्यपक्षीय दल हो,’ उनले भनेका थिए, ‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ ।’


