काठमाडौँ-नेकपा (एमाले)ले आज (शुक्रबार) काठमाडौँमा जागरण सभामार्फत शक्ति प्रदर्शन गर्ने भएकाे छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागिएको हो।
जागरण सभा अघि बिहान ११: ३० बजे काठमाडौंको भद्रकालीबाट सुरु भएर शहीद, वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने जनाएकाे छ। दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ।
देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ।
जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
हिजाे समसामयिक राजनीतिक विषयमा गरिएको अन्तरक्रियामा उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान गर्न लागेकाे बताउनु भएकाे थियाे। ‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उहाँले बताउनु भयाे। एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ।
एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ। सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने तयारी गरेको छ।