४ आश्विन २०८१, शुक्रबार 1726845577
Banner

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

काठमाडौं । आमालाई सम्मान गरी शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन् ।

हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने दिनलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।

आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन् । मातातीर्थमा रहेको कुण्डमा स्नान गरेपछि आप्mनो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने गर्छन् ।

मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास छ । सो कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । आमाको पवित्रस्थल भएकाले त्यो स्थानको नाम मातातीर्थ रहेको भनाइ रहेको छ ।

त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन् । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुख­सन्तोष पाउने जनविश्वास छ ।