८ मंसिर २०८१, शनिबार 1732358924
Banner

निर्वाचन आयोगले दल तथा स्वतन्त्र उम्मेदवारलाई आज निर्वाचन चिन्ह दिने

काठमाडौं । निर्वाचन आयोगले आज दल तथा दलका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्दैछ । उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध उजुरीमाथि जाँचबुझको समय सकिएपछि साँझ अन्तिम नामावली प्रकाशन गर्ने र चुनाब चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो। दुई दिनमा देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो । स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गराएका करिब ४ हजारले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार एमालेले पुरुष १९४९९ र महिला १४००४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो ।

जसमध्ये एमालेले नगर प्रमुखमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार उठाएको छ । त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना उम्मेदवार उठाएको छ । त्यसैगरी एमालेले गाउँपालिका उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा ६,४०५ जना पुरुष र ११८ जना महिला गरी ६५२३ जनालाई उम्मेदवार बनाएको छ । त्यस्तै वडा सदस्यमा १२३५० पुरुष र ५४१ जना महिला गरी १२८९१ जना उम्मेदवार एमालेले निर्वाचनमा उठाएको छ ।

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।