काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकका नराम्रा कामको नेतृत्व नेकपा माओवादीबाट भइरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले कूप्रचार गर्ने, मुद्दा हाल्ने, जनतालाई दुःख दिने काम माओवादीको नेतृत्वमा भइरहेको आरोप लगाए । एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रचण्डको नेतृत्व सक्रिय रहेको उनको भनाइ छ ।
उनले आफूविरुद्धको विष काठमाडौं बसेर पचाइदिने बताए । उनले प्रचण्डले नै भ्रष्टाचारीको संरक्षण गरेको टिप्पणी गर्दै त्यसको आरोप भने आफूलाई लगाएको धारणा राखे । भ्रष्टाचारीलाई काँध हाल्ने काम प्रचण्डले गरेको उनको भनाइ छ । ओलीले अहिले सामाजिक सञ्जालमा प्रविधिको प्रयोग गरेको आफ्नो आवाजको दुरुपयोग भएको र आफ्नै पार्टीका नेताहरूसमेत भ्रममा परेको बताए । उनले देशमा स्थिरताका लागि कांग्रेस–एमालेबीच सरकार बनेको जिकिर गरेका छन् । समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरूको मूल मन्त्र भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा समेत जोड दिए ।