हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताएका छन् । उनले विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको अन्त्य हुन जरुरी बताए । सोमबार हेटौँडामा गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिसँग योजना तर्जुमा तथा प्रदेश आयोजना बैङ्क सञ्चालनका सन्दर्भमा छलफल गर्दै मुख्यमन्त्री लामाले नेपालमा पूर्वाधार निर्माण महँगो परिरहेको बताए ।
हालको पूर्वाधार निर्माणको विधिका कारण राज्यको खर्च बढी भइरहेको उनको भनाई छ । उनका अनुसार विकास निर्माणको काम डिजाइन एन्ड बिल्ड विधिमा सञ्चालन गर्दा सहज हुनेछ । ‘सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्नुपर्छ । प्रभावकारी र वृहत् प्रकारको योजना कार्यान्वयन गरेर नागरिकलाई उत्पादन र आर्थिक उपार्जनमा जोड्नुपर्छ’ उनले भने, ‘प्रदेश सरकारले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउन आयोजना बैङ्क सञ्चालनको तयारीमा छ । प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आयोजना बैंकको काम अघि बढाउने योजना छ । हामी फिजिबिलिटी अध्ययन गरेर योजना छनौट गरेर काम अघि बढाउँछौ ।’
गुणस्तर र निर्माणको विषय प्रक्रियागत रूपमा अनुगमन गरेर नियमन नियन्त्रण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । सरकारको लगानीलाई उत्पादनमुखी बनाउन जरुरी रहेको उनको भनाई छ । उनले अधुरा आयोजना पूरा गर्नेगरी सरकारले अघि बढाउन जरुरी रहेको छ । आन्तरिक र अन्तर सरकार बिच समन्वयात्मक भूमिकाबाट काम गर्नुपर्ने उनले बताए । ‘हामीले आन्तरिक र अन्तर सरकारबिच समन्वय गर्न जरुरी छ । सरकारको नेतृत्व गरिरहेका व्यक्तिबिच आफू भित्र नै द्वन्द भएमा समस्या समाधान हुन सक्दैन । छलफलको एजेन्डा र कार्यान्वयनमा ध्यान दिनुपर्छ । कार्ययोजना अनुसार काम गर्न जरुरी छ । समस्या समाधान गर्ने गरी छलफल गरेर अघि बढ्नुपर्छ’ मुख्यमन्त्री लामाले भने ।