३ आश्विन २०८१, बिहिबार 1726782579
अर्थ

अनियमित विद्युत् आपूर्तिले रुपन्देहीका उद्योग समस्यामा

रुपन्देही – अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो ।

करिब एक महिनदेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ । पछिल्लो समय लगातार १५ दिनदेखि विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाले जानकारी दिनुभयो । “अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ”, उहाँँले भन्नुभयो ।

उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना हुन लागेको उहाँको गुनासो छ । विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन ।

अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषितरूपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकारणसँग पटक–पटक आग्रह गर्र्दै आए पनि समस्या समाधान हुनसकेको छैन ।

प्राधिकरणले समयतालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुकोे छ । “प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक–पटक उद्योगीहरूले पीडा भोग्नुपरेको छ । हाल विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित हो”, उद्योगी बाबुराम बोहोरा भन्नुहुन्छ, “समस्या सामाधानमा छिट्टै कदम नचालिए सङ्घ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ ।”