काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा विपक्षी ६ दलको बैठक सुरु भएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका शीर्ष नेताहरू उक्त बैठकमा सहभागी छन्।
बैठकपछि अपराह्न ३ बजे संसद भवनभित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने योजना रहेको बताइएको छ। सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएका विपक्षी दलहरू सरकारले अध्यादेश जारी गरेपछि थप असन्तुष्ट देखिएका छन्।
यसअघि, बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो। उक्त बैठकमा सरकारले हिउँदे अधिवेशन आह्वान गर्न ढिलाइ गरेको भन्दै चाँडै सदन बोलाउन दबाब दिने निर्णय भएको थियो। साथै, सरकारले संसदलाई बाइपास गर्दै अध्यादेशमार्फत् शासन गर्न खोजेको भन्दै आपत्ति जनाइएको थियो।