काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् । उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान ओलीसँग फोन सम्बाद गरेको उनले बताए । ‘अब हामी नअल्मलिने भयौं, एमालेमै जाने भयौं’, कार्कीले भने । पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए । उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए । एमालेमा जाने भएपछि उनीहरुले अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।
एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएको कार्कीले बताए । ‘अब हाम्रो कुरा कोहीसँग हुँदैन, अहिले एमालेसँग एकतामा जान्छौं, त्यसपछि अरु वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौं’, उनले भने । लामो समय गौतमको प्रेस सहयोगीको भूमिकामा रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले शुक्रबार पार्टी र संगठन परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी प्रवेश गरेलगत्तै ओलीले गौतमलाई छलफलका निम्ति बालुवाटार बोलाएका थिए । कार्कीका अनुसार, त्यही दिनको कुराकानीमा सबै कुरा टंगो लागेको र आज विहानको कुराकानीपछि एकता गर्ने कुरा पक्कापक्की भएको हो ।