पुष्कर कडेल
“गरीबीविरूद्धको लडाईंमा परिवर्तनकारी शिक्षा आवश्यक हुन्छ।” आर्थिक क्रान्ति अर्थात समृद्धिको यात्रा सफल बनाउन शैक्षिक क्रान्तिसँगै प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन अनिवार्य भइसकेको छ। यसका साथै हामीमा सकारात्मक सोच र रचनात्मक व्यवहार गर्ने बानीको विकास हुनुपर्छ। तर हामी यो बाटोमा छैनौं किनभने सम्भावनाहरू हुँदाहुँदै पनि सामाजिकआर्थिक रूपमा निरन्तर हामी पछाडि परिरहेका छौं। यो आजको वस्तुगत यथार्थ हो।
२००७ सालको राजनैतिक परिवर्तनपछिका साढे सात दशक राजनैतिक तथा संवैधानिक व्यवस्थाको परिवर्तनमा नै बित्यो। तैपनि अझै हामी अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन भन्ने भ्रमजालमा परेर राजनैतिक तथा संवैधानिक परिवर्तनको नाममा फेरि अर्को अस्थिरता खोजिरहेका छौं। यतिबेला हामी अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ। यही व्यवस्थाबाट समृद्धिको यात्रा सुरू गर्नुपर्छ। किनभने आजको आवश्यकता राजनैतिक स्थिरता र संवैधानिक गतिशीलता हो न कि यसमा फेरि अर्को परिवर्तन। त्यसैले आज मूल मुद्दा समृद्धि कसरी प्राप्त गर्न सकिन्छ भन्ने हुनुपर्छ।
यो लेखकको मनमा सधैं एउटा प्रश्न उठिरहन्छ, “के हामी शान्त र समृद्ध नेपाल बनाउन शिक्षा व्यवस्थाको चरित्रमा आधारभूत परिवर्तन गर्न तयार छौं ?” आजसम्मको अनुभवले भन्छ, हामी तयार छैनौं। त्यसैले त परदेश पलायन गर्न सिकाउने शिक्षा र सघाउने आर्थिक नीतिको निरन्तरतामा समृद्धि खोजिरहेका छौं। दानअनुदानमा भर परेर नागरिक जति निर्यात गरेर वस्तु आयात गर्ने आर्थिक नीतिले देश समृद्ध बनाउन सकिन्न भन्ने बोध हामीमा भइरहेको छैन्। अनि त हामी राजनैतिक अस्थिरता र संवैधानिक जटिलता सिर्जना गर्ने मनासयका साथ भइरहेको नयाँ अर्थात वैकल्पिक राजनीतिको भ्रमहरूमा अलमलिएर फेरि सडक, सदन र सामाजिक सञ्जालहरूमा लोकप्रिय र बलियो देखिन खोज्दैछौं। यो राजनीतिको वैचारिक पक्ष के हो, राजनीतिक लक्ष्य के हो र नेतृत्वको नियत के हो ? बुझ्ने र बुझाउने प्रयास गरिरहेका छैनौं।
यतिबेला हामीले राजनीतिको विचार र लक्ष्य अनि नेतृत्वको पृष्ठभूमि र नियत बुझ्नुपर्छ। नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ। आजको आवश्यकता पनि यही हो, तर यो राजनीति वैचारिक छ कि छैन्, प्रेरणाको श्रोत के हो र गन्तव्य कता होरु सोध्नुपर्छ, बुझ्नुपर्छ। नयाँ पुस्तामा यो खालको प्रश्न गर्ने क्षमताको विकास गर्न कस्तो शिक्षा चाहिन्छ ? उत्तर पनि खोज्नुपर्ने भएको छ। हामी बौद्धिक रूपमा सम्पन्न नभएसम्म आर्थिक रूपमा समृद्ध बन्न सक्दैनौं। अब प्रश्न उठ्छ, “बौद्धिक र आर्थिक गरीबी हटाउनका लागि हाम्रो शिक्षाको चरित्र कस्तो हुनुपर्छ ?” यसका लागि हामीले हाम्रा विगत र विश्वका अनुभवहरूबाट सिक्न सक्नुपर्छ।
हामी अराजक र स्वछन्द हुँदै देश समृद्ध भएन भन्छौं, किन भएन ? कारण खोज्दैनौं र तर्कसँगत प्राज्ञिक बहस पनि गर्दैनौं। आक्रोशित भएर राजनीतिक दल र त्यसको नेतृत्वमाथि खनिन्छौं। आवेगमा विवेक गुमाउँदै भ्रमित र खराब भाष्यमा परेर धारणा बनाउन खोज्दैछौं र भन्दैछौं, देशको अवस्था बदल्न व्यवस्था बदलौं। जबकि बिग्रेको राजनीति होइन, शिक्षा तथा सामाजिक व्यवस्था हो। जसले राजनीतिलाई मात्र बिगारेन देशलाई समृद्ध बन्न पनि दिएन। त्यसैले “राम्रो शिक्षामार्फत समृद्धि खोज्ने कि समृद्धिपछि शिक्षा राम्रो बनाउने ?” भन्ने प्रश्नमा केन्द्रीत हुनुपर्ने भएको छ।
हामीले बुझ्नैपर्ने कुरा के हो भने “शिक्षा समृद्धिको आधार हो भने असल नागरिक समृद्धिको पहिलो पूर्वाधार। तसर्थ शिक्षामा लगानी बढाएर समृद्धिको आधार तयार गर्नुपर्छ भन्ने मान्यताबाट हामी निर्देशित भइरहनुपर्छ।” भोलिको राजनीति राम्रो बनाउन र देशलाई समृद्धिको बाटोमा हिंडाउन आजको पुस्तालाई राम्रो शिक्षाबाट शिक्षित गरिरहनु पर्छ। यो नियमित प्रक्रिया हो। अहिले यो प्रक्रिया अबरूद्ध भएको छ। जसका कारणले देशले असल नागरिक र नेतृत्व पाउन सकिरहेको छैन्। त्यसैले नयाँ र वैकल्पिक राजनीतिको नाममा बहर (बालेन, हर्क र रवि) हरूले खराब भाष्यको जगमा जनसाधारणलाई भ्रमित बनाउन खोजिरहेका छन्।
वैचारिक राजनीतिक संलग्नताबिना देशको अपेक्षा – सुशासन, समृद्धि र न्यायपूर्ण वितरण – हरूको सम्बोधन गर्ने राजनीति बलियो बन्न सक्दैन्। किनभने नीतिहरूको राजा राजनीतिले सही बाटो लिएन भने देश गलत बाटोमा जान सक्छ भन्ने कुरो युक्रेनको पछिल्लो राजनीतिबाट सिक्नुपर्छ। उ बेला बिस्मार्कले भनेका थिए, “राजनीति असम्भवलाई सम्भव बनाउने कला हो।” आज हाम्रो यो कला भ्रम र लोकरिझ्याईंको जालमा परेको छ। यसले परिस्थितिलाई अराजक बनाउने प्रयास भइरहेको छ। भनिन्छ नि “खराब नेताको आवाज अर्थात हल्ला ठूलो हुन्छ, जब बौद्धिक वर्गले त्यसको प्रतिरोध गर्दैन।” अहिले त्यही ठूलो हल्लाको साहारामा जनता झुक्याउने प्रपञ्च भइरहेको छ। आज यो प्रवृत्ति देशको मुख्य समस्या बन्दैछ।
त्यसैले जनतामा आलोचनात्मक चेतको विकास गर्न र समस्याहरूको समाधानमा उनीहरूलाई सहयोगी बनाउन पूर्वीय विश्वदृष्टिकोणको जगमा नयाँ शिक्षा तथा सामाजिक व्यवस्थाको विकास गर्नुपर्ने भएको छ। किनभने आलोचनात्मक चेतले समस्याको दिगो समाधान खोज्छ र परिस्थितिको ठीक विश्लेषण र मूल्यांकन गर्छ। असल र खराब छुट्याउने क्षमता राख्छ। ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्छ। खराब भाष्य र भ्रमहरूबाट मुक्त हुन्छ। हामीले भन्नुपर्छ आजको शिक्षाले हामीमा आर्थिक र बौद्धिक गरिबीमात्र बढाएको छैन् देशलाई पनि संकटमा पार्दैछ किनभने अतिवादीहरूको गतिविधि बढ्दैछ।
आज हामीले बुझ्नुपर्छ, “शिक्षाको अन्तिम लक्ष्य र समृद्धिको मुख्य आधार के हो ?” हाम्रो नेतृत्व यो प्रश्नमा स्पष्ट छैन। जसका कारणले देशको परिस्थिति र नागरिकको मनस्थिति सकारात्मक बन्न सकिरहेको छैन्। यहाँ नेतृत्व भन्नाले राजनीतिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक र सामाजिक नेतृत्वलाई बुझ्नुपर्छ। तर हामी नेतृत्व भन्ने बित्तिकै राजनीतिक नेतृत्व भनेर बुझ्छौं। यो बुझाइ नै गलत हो। परिणामस्वरूप प्रशासनिक, न्यायिक, प्राज्ञिक र सामाजिक नेतृत्वले आफूलाई सुरक्षित ठानेको छ। जबकि देशको परिस्थिति सकारात्मक नबन्नुमा उनीहरूको पनि उत्तिकै भूमिका छ।
हाम्रो सन्दर्भमा लेखक बेन बोट्सको भनाई बढी सान्दर्भिक हुनसक्छ। बेन भन्छन्, “नेतृत्व भनेको सबै प्रश्नहरूको उत्तर थाहा पाउने होइन, उसले अरूलाई उत्तर पत्ता लगाउन वातावरण तयार गर्ने हो। सबैभन्दा परिवर्तनकारी नेताले विश्वासको वातावरण निर्माण गर्छ, विकासलाई बढावा दिन्छ र अरूलाई उनीहरूको सीमितता मात्र होइन तिनीहरूको आफ्नो क्षमता बुझ्न प्रेरित पनि गर्छ।” आज हामीमा यो खालको चरित्र भएको नेतृत्वको अभाव छ। त्यसैले त हामी नायकत्वको खोजीमा खलनायकहरूलाई अघि लगाएर समृद्धि खोज्ने कमजोरी गरिरहेका छौं।
हामीमा विद्यमान यो कमजोरी हटाउन सबभन्दा पहिले शिक्षा तथा सामाजिक व्यवस्थाको चरित्रमा आमूल परिवर्तन गर्नुपर्छ। जसले हामीलाई सही बाटो देखाउन सक्छ। हाम्रो क्षमता र सीमितता चिनाउँछ। अगाडिको यात्रा सहज बनाउँछ। विवेक प्रयोग गर्न प्रेरित गर्छ। चुनौतीहरूलाई अवसरमा बदल्ने क्षमता विकास गर्छ। श्रमलाई सम्मान गर्ने बनाउँछ। देश चिनाउँछ, अधिकारसँगै कर्तव्यको बोध पनि गराउँछ। मतलब हामीलाई असल नागरिक बन्न सघाउँछ। देशभित्रै सकारात्मक र रचनात्मक भएर गतिविधि गर्न रमाउन सिकाउँछ। हामीलाई देशको समृद्धिमा योगदान गर्न तयार गर्छ। त्यसैले शिक्षामा आमूल परिवर्तन गर्दै देशलाई समृद्ध बनाउने नीति लिनु आजको आवश्यकता हो।
यदि हामी हाम्रो भविष्य सुनिश्चित र दिगो बनाउन चाहन्छौं भने आज हामी के गर्दैछौं भन्ने कुराले निर्धारण गर्छ। जस्तैः हाम्रो शिक्षा व्यवस्था कस्तो छ, आर्थिक, न्यायिक र प्रशासनिक प्रणाली अनि सामाजिक थिति र अभ्यास कस्तो छ भन्ने कुरा हो। राजनैतिक तथा संवैधानिक व्यवस्था मात्रै मुख्य मुद्दा होइन। तर हामीभने राजनैतिक तथा संवैधानिक व्यवस्थालाई मात्रै मुख्य मुद्दा बनाएर प्रगतिको गति धिमा बनाउन खोज्दैछौं।
अहिले त सहरमा गरीबहरूलाई गतिविधि गर्न नदिने पात्र र राजनीतिलाई ठीक भन्दैछौं, जातीय र क्षेत्रीय अतिवादलाई पछ्याउने पात्रको चर्चामा रमाउँदैछौं अनि ठगी र संगठित अपराधमा संलग्न पात्रलाई नायक बनाउन खोज्दैछौं। जबकि यी सबै पात्रहरू देशको भविष्य राम्रो बनाउन होइन, राजनैतिक अस्थिरता र संवैधानिक जटिलता सिर्जना गर्न उपयोग भइरहेका छन्। यीनीहरू कसको स्वार्थमा कुन वैचारिक धारको राजनीति गर्न खोज्दैछन्, खुलेको छैन्। त्यसैले जनतालाई राजनीतिक रूपमा साक्षर बनाउन पनि शिक्षा व्यवस्थामा परिवर्तन अनिवार्य भइसकेको छ। शिक्षामार्फत समृद्धि खोज्ने बाटो लिनुपर्छ। यो लेखकको बुझाइमा “हामीले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र निष्पक्ष सञ्चारको माध्यमबाट भविष्यलाई सशक्त र सुरक्षित बनाउनु पर्छ।” त्यहीअनुसार शिक्षा नीति बनाउनु र शिक्षामा लगानी पनि बढाउनु पर्छ।