काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले मन्त्री, सचिव, नेपाल आयल निगम संचालक समिती तथा कार्यकारी निर्देशक समक्ष पटक–पटक लिखित तथा भेटवार्ता मार्फत आफूले राख्दै आएका मागहरु कार्यान्वयन हुन नसकेको बताएको छ ।

महासंघले विज्ञप्तिमा भनेको छ, ‘महासंघको केन्द्रीय कार्यसमिती बैठकका निर्णयले नेपाल आयल निगमका राज्यभरका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानीमा टैंकरहरुको ढुवानी भाडा समय सापेक्ष गर्नुपर्ने, संचालन खर्च घट–बढ हुँदा पुर्व निर्णय अनुसार सोही अनुपातमा समायोजन हुनुपर्ने, नेपाल आयल निगमबाट करारमा संचालित टैंकरहरुको ढुवानी भाडामा वास्तविक ट्रिप संख्या यकिन गरी यथार्थ संचालन खर्च, एंव मर्मत सम्भार, खुराकी, तलब खर्चहरु आदी लगायतका अन्य समस्याहरु समाधानका लागि माननीय मन्त्रीज्यू, सचिवज्यू, नेपाल आयल निगम संचालक समिती तथा कार्यकारी निर्देशकज्यू समक्ष पटक–पटक लिखित तथा भेटवार्ता मार्फत माहासंघले राख्दै आएका मागहरु हाल सम्म पनी कार्यान्वयन हुन नसकेको यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।’
यसै सन्दर्भमा फागुन १ गते निगम केन्द्रीय कार्यालयमा ज्ञापनपत्र सहित आन्दोलनका कार्यक्रम रहेको महासंघले जनाएको छ । कार्यक्रममा मजदुरसँग सम्बन्धीत सबै संघ–संस्थाहरु, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन लगायत संघ–संस्थाहरु समेतको सकृय तथा नैतिक समर्थन रहेको महासंघको भनाई छ ।
‘२०७३ पछाडी डिजेल र अन्य सामान्य वाहेक मुख्य संचालन खर्च एंव यथार्थ ट्रिप संख्याको आधारमा ढुवानी भाडा समायोजन गरिएको छैन। विगत ३ बर्ष अघि निगम संचालक समितिले गठन गरेका ढुवानी भाडा समायोजन समितिले तयार गरेको प्रतिवेदन विभिन्न अध्ययन समितिले अध्ययन गरी संचालक समितिमा पेश भएको लामो समय सम्म पनि निर्णय गर्न आलटाल गर्ने गरेको र टैंकर संचालन खर्चमा भएको अत्याधिक बृद्धिका कारण टैंकर संचालन गर्न अत्याधिक कठिन परिरहेकोले निगम तथा सरकारले धेरै पटकको सहमती समेत कार्यान्वयन नगरेको र आलटाल गरिरहे पश्चात बाध्य भई हालको विरोध कार्यक्रम संचालन गरिएको जानकारी गराउँदै उल्लेखित कार्यक्रमहरु हाम्रो माग पुरा नभए सम्म जारी रहने र सो बाट उपभोक्तामा पर्न जाने असुविधा प्रति निगम र निगम संचालक समिती नै जिम्मेवार हुने हुँदा निगमले संचालन खर्च व्यहोरी टैंकर संचालन गर्न चाहेमा टैंकर उपलब्ध गराउने प्रतिवद्धता समेत प्रस्तुत गर्दै आन्दोलनका कार्यक्रमहरु हुने छन्’ महासंघले विज्ञप्तिमा भनेको छ ।
महासंघका अनुसार फागुन १ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना प्रदर्शन गरिने छ ।
त्यस्तै, २ गतेबाट पिडिओ नलिने र ५ गतेबाट सबै डिपोहरुमा टैंकरको साँचो निगममा बुझाई टैंकर लोड अनरोड नगराउँने तर निगम स्वयमले संचालन गर्न चाहेमा टैंकर उपलब्ध गराउँने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


