लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र म्यानमारका राजदूत म्यूम्यून्ट माउङबीच शिष्टाचार भेट भएको छ ।
कोषको कार्यालयमा मंगलबार भएको उक्त भेटमा उपाध्यक्ष लामा र राजदुतबीच बुद्ध जन्मस्थल लुम्बिनीको प्रर्वद्धन र दुई देशको सहकार्यका विषयमा छलफल भएको हो । भेटका अवसरमा उपाध्यक्ष लामाले म्यानमार नेपालको पूरानो मित्रराष्ट्र भएको बताउँदै लुम्बिनीमा त्यहाँका बौद्ध तीर्थयात्रीहरुलाई भ्रमणका लागि अझ बढी प्रचार गर्न आग्रह गरे ।

उनले म्यानमारबाट लुम्बिनीमा भ्रमण आउने तीर्थयात्रीहरु राम्रै रहेको तर अब अझ त्यसलाई बढाउन पहल गर्न ध्यानार्कषणसमेत गराए ।
उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रमा मात्रै शाक्यमुनी बुद्धसहित क्रक्रुछन्द र कनकमणि बुद्ध गरी तीन वटा बुद्धको जन्म भएकाले यो विश्वकै मानवशान्ति र बौद्ध सम्प्रदायको पवित्र स्थल रहेको बताए । त्यस्तै, उक्त भेटमा म्यानमारका राजदुत म्यूम्यून्ट माउङले म्यानमारका ८९ प्रतिशत नागरिकहरु बौद्धिष्ट भएको बताउँदै आफूहरुको आस्थाको केन्द्र भएकाले भ्रमणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । उनले बुद्ध जन्मस्थल लुम्बिनी आफू यसअघि पनि पटक पटक आएको बताउँदै लुम्बिनीको प्रर्वद्धनका लागि राजदुतका रुपमा सक्दो सहयोग गर्ने बताए ।
उपाध्यक्ष लामा र राजदुतबीच भएको भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्यलगायतको उपस्थिती रहेको थियो ।


