काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोटेश्वर बहुमुखी क्याम्पस प्रमुख प्रकाश पोखरेललाई विद्यावारिधि (पीएचडी) उपाधि प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायले ‘नेपालमा अप्रत्यक्ष करको संरचना, उत्पादकत्व र वृद्धि ’ शीर्षकमा सोध गरेबापत पोखरेललाई पीएचडी उपाधि प्रदान गरेको हो ।
त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले सोमबार पोखरेलको अन्तिम प्रस्तुति लिएको थियो । उक्त प्रस्तुतिपछि त्रिविले सोमबार नै पोखरेललाई विद्यावारिधि उपाधि प्रदान गरेको हो । १४ वर्षदेखि कोटेश्वर बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गराउँदै आएका पोखरेल गत पुस २३ गते क्याम्पस प्रमुख नियुक्त भएका थिए । पोखरेलका राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा एक दर्जनजति रिसर्च आर्टिकल प्रकाशित छन् ।


