काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने बताएका छन् ।
बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाएका हुन् । लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्ने गरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त गणतन्त्रवादी दलहरू लागि परेको समेत उहाँको आरोप छ ।
राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैँका लागि समाप्त हुने भन्दै आफूहरूको आन्दोलनका कार्यक्रममा सहभागी हुन उहाँको अपिल समेत छ । उनले भने, ‘चैत १५ गतेको घटनाबाट हामी कति पनि विचलित हुनुपर्ने जरुरत छैन । हतोत्साहित र निराश हुनुपर्ने जरुरी छै, चैत १५ गतेको घटनाबाट पाठ सिकेर हामीले हाम्रो आन्दोलनलाई नयाँ ढंगबाट र नयाँ शिराबाट अब उठाउनुपर्दछ ।
अहिलेको सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलका नेताहरूले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेका छन् । चैत १५ गतेको घटनासँग कुनै साइनो र सरोकार नै नभएको राजा ज्ञानेन्द्रलाई जुन ढंगबाट प्रधानमन्त्रीदेखि अन्य नेताहरूले लाञ्छना लगाउने काम गरे त्यो नेपाली जनतालाई स्वीकार्य छैन ।
अध्यक्ष थापाले केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको भन्दै त्यो प्रयास सफल हुन नदिने बताए । उनले सत्तामा आफ्नो वर्चस्व कायम गर्न र व्रह्मलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाए ।
उनले भने,‘सायद प्रधानमन्त्रीले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ । केही राजनीतिक दलहरूले आफ्नो वर्चस्वलाई कायम गर्न, आफ्नो व्रह्मलुटलाई सुरक्षित गर्नको निमित्त संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहान्छु प्रमुख राजनीतिक दलका नेताहरूलाई तपाईँले यो धृष्टता गर्नुभयो धने देशमा आगो बल्छ । त्यो आगोको पहिलो सिकार तपाईँहरू हुनुहुन्छ ।’


