मोरङ- मोरङ प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहका दुइ जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेकेा छ । चैत्र महिनामा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टै अनुसन्धान टोली गठन गरेर मोटरसाइकल चोर खोजी गर्ने अभियान थालेको थियो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १७ का सोयल आलम र नौसाद अन्सारी रहेका छन् । उनीहरुलाई चैत्र २६ गते अस्पताल चोकबाट कालो रंगको होण्डा सिबी साइन मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेसँगै उनीहरुले चोरेका थप पाँच वटा मोटरसाइकल र स्कुटी बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।
चालू आर्थिक वर्षो साउनदेखि मंसिरसम्म मोरङमा ६० वटा मोटरसाइकल चोरी भएकोमा केही व्यक्ति पक्राउ परेपछि मोटरसाइकल चोरीको घटना घटेको थियो । तर पुनः चैत्र महिनामा ११ वटा मोटरसाइकल चोरी भएपछि मोरङ प्रहरीले छुट्टै टोली गठन गरेर अनुसन्धान थालेको हो। मोटरसाइकल चोर गिरोहले विराटनगरको भिडभाड हुने क्षेत्रबाट पुरानो मोटरसाइकल चोरी गरी भारतको जोगबनीमा लगेर सस्तोमा बेच्ने गरेको पाइएको छ ।


