काठमाडौँ । अब नयाँ कम्पनी दर्ता गर्दा वा दर्ता भइसकेका कम्पनीको सेयर हस्तान्तरण गर्दा वास्तविक सेयर धनी तथा लाभदायीको विवरण पेस गर्नुपर्ने भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले मङ्गलवार सूचना जारी गर्दै यस्तो जनाएको हो । दर्ता भइसकेका कम्पनीका वास्तविक धनी तथा लाभदायीको विवरण अद्यावधिक गराउन तथा नयाँको हकमा घोषणा गर्न निर्देशन दिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले जारी गरेको सूचना अनुसार अब कुनै पनि कम्पनीको सेयर धनीको सेयरमाथि स्वामित्व लिने व्यक्ति–कम्पनीको विवरणसमेत अद्यावधिक गराउनुपर्ने छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले विशेष गरी होल्डिङ्स कम्पनीहरूलाई लक्षित गरेर यस्तो निर्देशन जारी गरिएको छ । सञ्चालनमा रहेको कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीमा अब कम्पनी दर्ता गर्दाका बखत सबै सेयर धनीको वास्तविक धनीसम्बन्धी विवरण अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ- ‘कम्पनी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्थाबमोजिम निर्देशक समितिको २६ चैतको निर्णयसमेतका आधारमा यस कार्यालयमा दर्ता भएका कम्पनीका सेयर धनीहरूको सेयर अरू कुनै व्यक्तिको पूर्ण वा आंशिक हक (बेनेफिसरी) भएमा त्यस्तो व्यक्तिको पहिचान र निजको हकको प्रकृतिका बारेमा वास्तविक धनी (बेनिफिसियल ओनर) को विवरण अविलम्ब सङ्कलन गर्न सबै कम्पनीलाई यो निर्देशन जारी गरिएको छ ।’


