८ मंसिर २०८१, शनिबार 1732388286
Banner

स्थानीय निर्वाचनः लोकतान्त्रिक गणतन्त्र जनमुखी बनाउने अवसर

स्थानीय निर्वाचनमा राप्रपाले राजतन्त्र जिन्दावादको नारा लगाउँदैछ तर कसलाई राजा बनाउने भन्न सकेको छैन। लोकतान्त्रिक गणतन्त्रमा खुला रूप राजतन्त्र जिन्दावादको नारा लगाउने राजनीतिक छुट राप्रपाले पाएको छ। तर हिजो राजतन्त्रकालमा प्रजातन्त्रको पक्षमा बोल्दा कतिको ज्यान लिइयो भने कतिले देशद्रोहको मुद्दामा जेलनेल व्यहोर्नु परेको थियो। अराष्ट्रिय तत्व भनेर देश छोड्न बाध्य बनाइएको पनि थियो। नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको मृत्युपछि पनि श्रेष्ठको पार्थिव शरिरलाई नेपाल ल्याउन दिइएको थिएन। लामो समयसम्म नेका सभापति विपी कोइरालाले निर्वासित जीवन बिताउनु परेको थियो। त्यसैले अहिले फालिएको राजतन्त्र खोज्ने दल राप्रापालाई होइन, लोकतान्त्रिक गणतन्त्रलाई जनमुखी बनाउने दल र त्यसका उम्मेदवारहरूलाई जिताएर सम्वृद्ध नेपाल सुखी नेपालीको नारा सफल बनाउनु परेको छ।

राष्ट्रिय राजनीति विशिष्ट र स्थिर बनाउने कि भद्रगोल र अस्थिर कस्तो बनाउने भन्ने कुराको निर्धारण यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावको नतिजाले मुख्य भूमिका खेल्नेछ। तर यतिखेर केहि प्राज्ञिक तथा रानीतिज्ञ हुँ भन्नेहरू स्थानीय निर्वाचनमा दलीय प्रतिस्पर्धा हुनु हुँदैन भनेर जनमन भ्रमित बनाउँदै लोकतान्त्रिक गणतन्त्रको विपक्षमा माहौल तयार गर्न खोज्दैछन्। यसको मतलब राजनैतिक तथा संवैधानिक व्यवस्था र अभ्यासलाई निर्दलीय बनाउँदै राजतन्त्र चाहनेहरुको स्वार्थअनुकुलको वातावरण बनाउनु हो। त्यसैले यतिखेर दलीय प्रणाली र अभ्यास सुसंस्कृत बनाउने र निर्वाचन प्रणालीलाई राजनीतिक नियन्त्रणबाट बाहिर जान दिनु हुँदैन्। यसका लागि दलहरूमा राजनीतिक पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरूको सक्रियता र प्रभाव बढाउनु पर्छ। निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व निष्पक्ष रूपमा निर्वाह गरेर देशको राजनीति र निर्वाचन प्रणालीमाथि उठेका प्रश्नहरूको उत्तर दिन सक्नुपर्छ।

अहिले स्थानीय निर्वाचनको प्रचार प्रसारमा दल तथा तिनका उम्मेदवारहरू आफ्ना सबै सामर्थ्यहरू प्रयोग गरेर जित निकाल्न मतदातालाई आकर्षित गर्ने् अन्तिम प्रयास गरिरहेका छन्। नेकपा एमाले, पाँच दलीय गठबन्धन, राप्रपा र स्वतन्त्र गरी चार थरिका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा देखिएका छन्। गठबन्धनले आफ्नो पक्षमा मतदान गर्न मतदाताहरूलाई फकाउने, प्रलोभन पार्ने र धम्क्याउने सबै उपाय अपनाएको छ। “गोलाकार भित्रको हँसिया हतौडामा भोट हाल्न गाह्रो नमान्नुस्, देश दुर्घटनामा पर्न सक्छ।” भन्ने प्रचण्डले भरतपुरको आमसभामा दिएको अभिव्यक्ति त्यसकै प्रमाण हो।

पाँच दलीय गठबन्धनका मुख्य नेता शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र रामचन्द्र पौडेलहरू डरै डरबाट निर्देशित भएको भरतपुरको चुनावी सभामा उनीहरूले बोलेका शब्दहरूले प्रमाणित गरेको छ।

भरतपुर महानगरपालिकामा रेणु दाहाल अर्थात प्रचण्ड पुत्रीले चुनाव हारेमा देउवाको प्रधानमन्त्री पद खुस्कने, प्रचण्डको उपयोगितावादी राजनीति सक्किने, माधव नेपालको कुण्ठापूर्ण अस्तित्व सिद्धिने अनि रामचन्द्र पौडेलको राष्ट्रपति बन्ने सपना खतम हुने डरले घर गरेको बुझ्न कुनै विश्लेषणको आवश्यकता पर्दैन।

यतिखेर गठबन्धन परिवारवाद अर्थात नातावाद बोकेर त राप्रपा २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा राजा विरेन्द्रको वंशनाससँगै सकिएको राजतन्त्र खोजेर अनि केहि स्वतन्त्र उम्मेदवारहरू जस्तै बालेन शाह (काठमाडौं) र गणेश पौडेल (पोखरा)ले जनताको क्षणिक असन्तुष्टीका प्रश्न सुनाएर लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने प्रयास गरिरहेका छन्।

यसको मतलब उनीहरूको राजनीतिक मुद्दा र वैचारिक धरातल खस्किएको भनेर हामीले बुझ्नुपर्छ। त्यसैले पछिल्लो समय उनीहरू चुनाव जित्नका लागि अराजनीतिक अभिव्यक्ति दिने र जातीय क्षेत्रीय मुद्दा उठाएर जनमन भ्रमित पार्ने अन्तिम प्रयास गर्दैछन् भने स्वतन्त्र उम्मेदवारहरू नकारात्मक कुरा गरेर आफू बलियो हुन खोज्दैछन्। चुनाव आफ्नो सबल र असल पक्ष देखाएर जित्ने कुरो बिर्सिएका छन्।

राजनीति सफल र परिणाममुखी बनाउन सामुहिक रूपमा विचारबाट निर्देशित शक्ति र नेतृत्व चाहिन्छ जसले लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। यसर्थ आम मतदातालाई विवेकसम्मत तरिकाबाट निर्णय गर्न सक्ने बनाउँदै लोकतान्त्रिक गणतन्त्रलाई जनमुखी बनाउन सक्ने दल र त्यसको उम्मेदवारको जित सुनिश्चित गर्ने राजनीतिक माहौल तयार गर्नुपरेको छ।