७ जेष्ठ २०८३, बिहिबार 1779390334
Banner

कृषिको आधुनिकीकरणमार्फत कृषकको जीवन उकास्नुपर्छ : मन्त्री अधिकारी

चितवन : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषकको जीवनस्तर उकास्नका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको रजतजयन्ती समारोहमा कृषकको अवस्था सुधारका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “कृषि क्षेत्रलाई स्थापित गर्न सके नेपाली युवाहरू विदेशिनबाट रोक्न सकिन्छ । यसका लागि आधुनिकीकरण आवश्यक छ । यसका लागि लगानी बढाउनुपर्नेछ, आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई सहुलियतका कार्यक्रम समावेश गर्ने गरी काम गरिएको छ ।”

कृषिमा लगानी बढाउँदै निजी क्षेत्रसँग सहकार्य गर्ने गरी काम गरिने उहाँको भनाइ थियो । मन्त्री अधिकारीले यस वर्षदेखि कृषकले विगतमा जस्तो मल नपाउने समस्या समाधान हुने भन्दै मल वितरण प्रणालीलाई संशोधन गरेर चुस्त बनाइएको बताउनुभयो । सरकारले दुग्ध उत्पादक किसानलाई दिनुपर्ने रकम दिइरहेको बताउँदै उहाँले अब बाँकी रकम दिने गरी काम गरिएको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “म मन्त्रालयको जिम्मेवारीमा आउँदा रु दुई अर्ब कृषकलाई तिर्न बाँकी रहेकामा हाल रु २० करोड मात्रै बाँकी छ ।” संस्थाका अध्यक्ष धर्मराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेललगायतले धारणा राख्नुभएको थियो । त्यस अवसरमा स्मारिका विमोचन, शिलालेख अनावरणसमेत गरिएको थियो ।