मकवानपुर- ऐतिहासिक महत्व बोकेको मकवानपुरको भीमफेदी स्थित हात्तीसार संग्रहालय प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
डिभिजन वन कार्यालय मातहत करिब ३१ रोपनी क्षेत्रफलमा फैलिएको यो संग्रहालय ऐतिहासिक, र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
हेटौंडाबाट करिब २० किलोमिटर उत्तरतर्फ रहेको भीमफेदी गाउँपालिका–६ मा अवस्थित हात्तीसार संग्रहालयले देशको इतिहास बोकेको छ । हात्तीसार संग्राहलयभित्र रहेका ऐतिहासिक महत्वका हौदाहरु संरक्षण गर्दै पर्यटकीय पार्कका रुपमा विकास गरिएको छ ।

बेलायतकी महारानी एलीजाबेथ, राणाप्रधानमन्त्री जंगबहादुर र शाहवंशीय बिभिन्न राजाले शिकार खेल्न प्रयोग गरेका हौदा भएका हात्तीसारलाई पार्कका रुपमा विकास गरिएको हो । उनीहरुले शिकार खेल्दा र भ्रमणमा प्रयोग गरेका हौदा हात्तीसार संग्रहालयमा छन् ।
राणाकालमा बेलायती महारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्न जाने क्रममा भीमफेदी आउने गरेको इतिहासका जानकार केदार न्यौपानेले बताउनुभयो ।
हाल संग्रहालयमा जम्मा ४२ वटा हौदाहरू राखिएका छन्। जीर्ण अवस्थामा रहेका यी सामाग्रीलाई सुरक्षित तवरले राखीएको छ । ३१ रोपनीमा फैलिएको संग्रहालयको अतिक्रमित जग्गा समेत मातहतमा ल्याइएको छ ।
विशिष्ट व्यक्तिका सवारीका बेला ओहोदा अनुसार भाइभारदार, सुसारे, सिपाही र विशिष्ट ब्यक्ति चढ्ने अलगअलग ४२ वटा हौदा, काँठी, गद्धा लगायतका सामग्री संग्रहालयमा छन् ।
साथै, बाघको सिकारका लागि प्रयोग गरिने सेतो कपडासमेत यहाँ सुरक्षित छ। ऐतिहासिक महत्वको संग्राहलय ताल्चा लगाएर राखिएको हुन्छ । पर्यटक आएमा मात्र खोलिने गरिएको छ ।
२०५९ सालमा तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले संग्रहालय थप आकर्षक बनाउन आधा दर्जन एक्युरियम राख्ने पहल गरेका थिए, तर ती एक्युरियम अहिले प्रयोगविहीन अवस्थामा छन् । हात्तीसार संग्रहालयलाई थप आकर्षक बनाउने तयारी रहेको ६ नम्बर वडाका जनप्रतिनिधि बुद्धि बहादुर वाइवाले बताउनुभयो ।
यस संग्रहालयको संरक्षण र प्रचार प्रसारमा जोड दिई यसको ऐतिहासिक महत्वलाई उजागर गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने देखिएको छ । सम्बन्धित निकायले यस विषयमा ध्यान दिई हात्तीसार संग्रहालयको उचित व्यवस्थापन र प्रवद्र्धन गर्न आवश्यक छ ।


