मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा नेपाल र भारतका ८४ वटा प्रमुख तीर्थस्थलहरूको प्रतिरूप समेटिएको अद्वितीय धार्मिक संरचना ‘चौरासी तीर्थ अक्षयधाम’ निर्माण गरिएको छ ।
नेपाल तीर्थ प्रकाशन संघले निर्माण गरेको यो अक्षयधाम नेपालमै पहिलोपटक यस्तो संरचना बनेको हो, जहाँ भक्तजनहरूले एकै ठाउँबाट नेपाल र भारतका सुप्रसिद्ध तीर्थस्थलहरूको दर्शन गर्न सक्नेछन् ।

मन्दिरका संरक्षक देवराज प्रपन्नाचार्यका अनुसार, चारधाम, चार क्षेत्र, पशुपतिनाथ, बद्रिनारायण, केदारनाथ, त्रिपति बालाजी, अष्ट वैकुण्ठ क्षेत्र, दश कुण्ड, देवीका दश अवतार, १२ सय शालिग्राम, समुद्र मन्थन र झुला जस्ता महत्वपूर्ण धार्मिक स्थलहरूको प्रतिरूप एउटै भवनमा समावेश गरिएको छ ।
तीर्थयात्रा गर्न नसक्ने वृद्ध, असक्त वा समय अभाव भएका भक्तजनका लागि अक्षयधामले सहज दर्शनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
अक्षयधाम निर्माणमा बागमती प्रदेश सरकारको २० लाख, हेटौंडा उपमहानगरपालिकाको १७ लाख र स्थानीय श्रमदानसहित कुल ४३ लाख रुपैयाँ लागत लागेको छ । यो धार्मिक परिसरले धार्मिक मात्र नभई पर्यटकीय महत्व समेत बोकेको छ ।
साउन १ गतेदेखि सुरु हुने शिवजीको बोलबम कार्यक्रमको तयारीसमेत पूरा भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरका संरक्षक प्रपन्नाचार्यले बोलबमका सहभागीहरूलाई अक्षयधामको दर्शन गरी पुण्य लाभ लिन आग्रह गर्नुभएको छ ।


