साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयमा बिहानैदेखि शुरू भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् ।
धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला शुरू भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रूपमा सोमबारलाई लिइन्छ ।

त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरू देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनका अनुसार आइतबार साँझ आएका भक्तजनले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो छ ।


