काठमाडौं । नेपालकै ठुलो प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को आयोजना गर्न लागिएको जानकारी दिइएको हो । “नाइमा मोबिलिटी एक्स्पो २०२५” यहि श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन । प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध हुने बताइएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिनेछ ।

कार्यक्रममा नाइमाका अध्यक्ष रितु शिंह वैद्यले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै “नाइमा मोबिलिटी एक्स्पो २०२५” नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गर्नुभयो । यसका साथै प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिनुभयो ।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले उद्घाटन मन्तव्य राख्नुभएको थियो । निर्देशक दुलालले एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिदै कार्यक्रममा उपस्थित पत्रकार, प्रायोजक, सदस्य, तथा साझेदार संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा अटो एक्स्पो समिति प्रमूख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार – विशेषतः जल निकासीे, अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था– उल्लेखनीय रहेको बताउनुभयो ।
यसपटकको प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि जानकारी दिनुभयो । प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी गराईयो ।

पत्रकार सम्मेलनमा एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमूख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ । राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ ।
यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिश्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येक लाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने जानकारी दिएको छ ।

प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म “ मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्र्धक सत्र संचालन गर्नुहुने छ् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिती आयोजकले जनाएको छ ।


