काठमाडौँ । लमजुङ मर्स्याङ्दी गाँउपालिका–६ मा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत १ जना कामदारको शनिबार (साउन २४ गते) पहिरोले पुरिएर निधन भएको छ । उक्त पहिरोमा परेर अन्य ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शनिबार दिउँसो ३ बजे अचानक पहिरो आएपछि भाग्ने क्रममा ढुङ्गा खसेर लाग्दा बेँसीसहर नगरपालिका–८ मा बस्ने ४२ बर्षीय लगनध्वज गुरुङको निधन भएको हो ।
दुर्घटनामा परेर मध्यनेपाल–८ बस्ने ३२ वर्षीय प्रितम लामा भनिने (भीमबहादुर तामाङ), दोर्दी गाँउपालिका–५ का २२ वर्षका विराज गुरुङ र प्युठान जिल्ला झिमरुक गाँउपालिका–६ का ४० वर्षीय विकास विष्ट घाइते भएका छन् । घाइते मध्ये २ जना उपचारपछि घर फर्किएका र १ जनाको भने प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
घटनास्थलमा ४० जना कामदार रहेका थिए, जसमध्ये १ को मृत्यु भएको छ भने ३ घाइते छन् । बाँकी ३६ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।


