कैलाली । कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, वेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे । दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो । ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन् । मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे । घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री ती पुराना दिन सम्झिन्छिन् । उनी भन्छिन्, “रोपाइँ सकिने बित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो । अब त ती सबै हराउँदै गए ।”

स्थानीय ६३ वर्षीया तोलादेवी विष्टको सम्झनामा पनि उस्तै छ । उनी भन्छिन्, “पहिले तीजमा महिलाले आफ्ना पीडा पोख्थे । गीत गाउने माध्यम आफ्नै आवाज थियो । अहिलेका गीत त भड्किला हुँदै गए, मनको बोझ बिसाउने ठाउँ हराए ।” समय फेरियो । मादलको स्थान ‘साउन्ड सिस्टम’ र आधुनिक सङ्गीतले लियो । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराएको कैलाली जिल्ला समन्वय प्रमुख टीका चौधरी भुल बताउँछिन् । पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, विवाहपछि घरपरिवार र समाजबाट भोगेका पीडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु थिए ।
स्थानीय ६५ वर्षीय मैती बुढाथोकीले विगत सम्झँदै भनिन् , “माइत जान पनि तीज नै कुर्नुपर्थ्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो । मादल मुजुरा जस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो । अब त मादलको भाका सुनिनै मुस्किल पर्छ ।”
पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठुलो परिवर्तन आएको छ । भड्किलो दुई अर्थी शब्दहरूको प्रयोग बढेको घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी बताउँछिन् । चौधरीले भनिन्, “मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त देखिन छाडियो ।”
मौलिकता हराउँदै जाँदा सबैभन्दा ठुलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको छ । यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छ भने अर्कोतिर मादल बनाउने र बजाउने पेसा सङ्कटमा परेको छ । लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी भन्छिन्, “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो । मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्नै गाह्रो छ ।”
तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरेको छ । अघिल्लो वर्ष पनि आयोजना गरेको पालिकाले यस वर्ष सोमबार तीज प्रतियोगिता आयोजना गरेको हो । यस्ता प्रतियोगिताहरूले पुराना भाकाहरूलाई नयाँ पुस्तासम्म पुग्न मद्दत गर्ने नगरपालिकाका प्रमुख खड्क रावत बताउँछन् ।
मौलिकता गुमाउँदै मौलिक तिज
नेपालको सामाजिक,सांस्कृतिक जीवनमा तिज महत्वपूर्ण पर्वका रूपमा स्थापित छ । हरेक चाडपर्वले छुट्टाछुट्टै विशेषता बोकेर आएका हुन्छन् । चाडपर्वहरू मानव पुर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् । तिज नेपाली जनजीवनमा विशिष्ट मौलिकता बोकेको महत्वपूर्ण चाड हो ।तिज कहिलेदेखि मान्न थालिएको हो भन्ने कुनै तथ्य प्रमाण नभए पनि यससँग धार्मिक, पौराणिक प्रसंग जोडिएका छन् । महिलाको चाड भनेर चिनिने तिजको रौनक अहिले झन् बढ्दै गएको छ । सहरदेखि गाउँसम्म, सडकदेखि सामाजिक सञ्जालसम्म तिज धुमधाम छाउने गर्छ । विशेषगरी साउन लागेपछि बजारमा राताम्य कपडाको चहलपहल, पूजा सामग्रीको खरिद, गीत–संगीतको माहोल र महिलाहरूमा देखापर्ने उमंगले तिज आगमनको संकेत गर्छ । तिज हिन्दु नारीको महान् चाड हो । हिन्दु नारीहरूले यस चाडलाई महत्वपूर्ण पर्वको रूपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरू तिजको निहुँले भए पनि माइत जाने र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान् शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तिज मनाउने परम्परा पुरानै हो ।
हरितालिका तिजको कथा भगवती पार्वतीसँग जोडिएको छ । तिजमा भगवान् शिवको आराधना गर्नुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि मनाउँछन् । हाम्रो वैदिक दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तिजको सम्बन्ध प्रकृतिसँग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्व र सामीप्यलाई यो चाडले आत्मसात् गरेको छ । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै दर्शनले ब्रह्मा मानेका छन् । आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विकृति, विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ । चेलीबेटीले गीतमार्फत आफ्ना बहहरू पोख्ने पर्व पनि हो तिज । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तिजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने परम्परागत चलन थियो । माइती आएर छोरीचेली माइतीको आँगनमा तिजका गीतमा छमछमी नाच्ने । दरखाने दिन घिउमा पकाएको परिकार बनाएर दरका रूपमा खाने । तिजका गीतहरूमार्फत नै पीडा, दुःख–दर्द, समाजका विसंगति र महिला अधिकारका आवाज समेटिन्थे ।
तर अहिले बिस्तारै चलन परिवर्तन हुँदै गएको छ । तिज दरका लागि माइतीहरू छोरीचेली लिन जाने चलन हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरीचेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । समाज बिस्तारै आधुनिकतातिर ढल्किदै छ । हिजोआज घिउमा पकाएको दरभन्दा माछा, मासुलगायत विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तिजको निराहार व्रत बस्ने चलन अहिले भने हराउँदै गएको छ । अहिले त एक महिनाअघिदेखि होटेल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ । यसो गर्दा तिजको सांस्कृतिक र आध्यात्मिक पक्ष नासिँदै गएको छ भने सामाजिक सद्भाव पनि बिग्रँदै गएको छ ।
तिजमा मनका भावना एवं सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने रमाइलो गर्ने नाच्ने गाउने चलन पुरानो नै हो । चेलीबेटीले गीतमार्फत आफ्ना बहहरू पोख्ने गर्थे । पहिलेका तिजका गीतमा दुःख वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दा भन्दै तिज गएको जस्ता कुराहरू मिसाएर गीतका शैली हालेर गाउने गर्थे । त्यो बेलाका गीतहरू धुरुधुरु रुने, रुवाउने शैलीमा गाइएका हुन्थे । अहिले आएर गीतलाई नयाँ ढंगबाट तिजका गीतहरू बजारमा ल्याइएको छ । तिज भन्नेबित्तिक्कै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने भन्ने परम्परा बिस्तारै हराउँदै गएको देख्न सकिन्छ । अहिले तिज गीतहरू बढी ‘मनोरञ्जनात्मक स्वरूपमा मात्र केन्द्रित छन् । गीतमा भड्किला भिडियो र अश्लीलतासम्म मिसिएको पाइन्छ । मौलिक धुन, भाका र सामाजिक सन्देश हराउँदै गएका छन् ।
तिज हिन्दु नारीले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड उच्छृंखलता र अश्लीलता भरिएका शब्द तथा भिडियो सार्वजनिक गर्दै डिजिटल प्लाटफर्ममा भ्युज बटुल्ने होडबाजीले मौलिक गीतहरू लोप भइसकेका छन् ।
अचेलको तिज
हिजोआजको तिज के साँच्चैको तिज हो त ? यसरी तिज मनाएका हौं कि हामीले विकृति फैलाएका हौं ? आजको टड्कारो प्रश्न हो यो । तिज वा अन्य चाडपर्वको नाममा विकृति फैलाइरहेका छौं, हामी । १५÷२० वर्षअघिको तिज अलि अलि सम्झनामा आउँछ । त्यस समय आमाले भनेको सम्झन्छु । अचेल त तिज पनि के हो ? के समय आएको यसरी एक महिनादेखि नै तिज मनाउने ? हुन त मेरी आमा ग्रमीण परिवेशमा हुर्किनुभयो । त्यहीँ घाँसदाउरा, मेलापात गर्ने, आफ्नो खेतबारीमा काम गर्नेतिर ध्यान थियो । सामाजिक सञ्जालले पनि समाज र सोच बदलेको हुन सक्छ । जुन घानमा तिजजस्ता चाडपर्व र संस्कृति पिसिएका छन् । त्यो समयमा पनि आमालाई माइत जान खासै फुर्सद हुँदैनथ्यो । आमाले सुनाउनु भएको कुरा म कथाजसरी सुन्थे । त्यो समयमा मेरो तिज, माइत, मावल, चेलीबेटी खासै नभएकी भएर होला दर खाने दिन भन्ने गर्नु हुन्थ्यो । आमालाई हामी छोराछोरी हेर्नु कि बस्तुभाउ, घरको कामले खेतीकिसानीले फुर्सद हँुदैनथ्यो । घरमै मीठो दूधबाट बनेका परिकार खानुपर्छ भन्नुभएको याद छ । किनकि दर खाने भोलिपल्ट, पानी पनि नखाई व्रत बस्नुपर्ने भएकाले र मनोविज्ञानका हिसाबले व्रतको १२ घण्टा अर्थात् माछामासु खानुहुँदैन भन्नुभएको थियो । त्यही छाप अहिलेसम्म मेरो मानसपटलमा छ ।
आमाको पुस्तासम्म पनि तिज के हो ? किन मनाइन्छ ? कसरी मनाइन्छ ? भन्ने आमाको आमा, हजुरआमाहरूले आफ्नो पिर, व्यथा, गीतमार्फत व्यक्त गर्ने ती भावना, दुःखका साधन खुसीका वेदनाका जे पनि हुन्थ्यो । त्यो समयमा महिलाको संसार सानो थियो । आफ्नो घर–परिवारमा सीमित रहेका बेला सासूससुरा, नन्द–भाउजू, देवर–देउरानी, जेठानी, बाबु–आमा, दाजु–भाइ या भनौं आफ्नै परिवारभित्र मात्र वरिपरि घुम्ने शब्दहरू । गीतका शब्दहरू आशाका केही निराशाका केही बुहार्तनका हुन्थे । त्यो समय परिवेशका मान्छेले जीवनमा जे भोगिरहेको छ । प्रायः त्यही कुरा नै व्यक्त हुने गरेको हुन्थ्यो । हाम्रा आमाहरूको समयमा उहाँहरूले लेखपढ गर्न नपाए पनि उहाँहरू व्यावहारिक जीवनबाट धेरै अघि हुनुहुन्थ्यो । उहाँहरूमा सिर्जनशीलता थियो, गीत आफैं रच्ने, आफैं गाउने, गीतमार्फत आफूमाथि आइपरेका घटनाहरू, मनमा भएका रहरहरू व्यक्त गर्ने । महिला दिदीबहिनी, आमा–हजुरआमाहरूमा व्यक्तिगत स्वतन्त्रताको इतिहास बोकेको चाडका रूपमा पनि हामी तिजलाई लिन सक्छौं ।
त्यसबेला छोरीचेलीको सुरक्षाका निम्ति पनि बुबा, दाजुभाइहरूको साथमा मात्र माइत पठाउने चलन थियो, जुन एक दृष्टिकोणबाट राम्रो थियो । वनजंगलको बाटो जंगली जनावर, अन्य खराब मनसाय बोकी हिँड्ने मान्छेको अगाडि नारीको सुरक्षा हुँदैनथ्यो । त्यसैले आफ्नो सन्तान चाडपर्वमा आउँछे कि आउँदिन भनेर हरेक घरका दलानबाट आमाले आफ्नो आँखाले भ्याएसम्म हेर्नेँ बाटोमा आउँदै गरेको देखेपछि मुस्कुराउँदै हतारहतार भान्सामा गएर जे छ खाने कुरा पकाउन सुरु गर्ने गरेको अलिअलि मलाई पनि याद छ । जब ठूलो हँुदै गइयो, अहिले बुझ्ने हुँदा त्यो मेरी आमाको जस्तो समय अहिले छैन । नारीहरू स्वावलम्बी छन् । एक महिना अघिदेखि तिज मनाउन हिँडेको देखिन्छ । हिजोआज मुख्य ठूला सहरका पार्टी प्यालेसमा महिनाअघिदेखि दर खाने गरिन्छ । यतिका महँगो पार्टी प्यालेसमा गर्ने खर्च कहाँबाट आउँछ ? दिनदिनै फरकफरक पहिरन लगाउने खर्च कहाँबाट आउँछ ? लाउने भन्दा देखाउने चलनले चाहिँ हैरान बनाएको आपसमै । यो पीडा कसले बुझ्ने ? कसले बुझाउने ? तिज र अन्य चाडपर्वका नाममा विकृति फैलिएको सन्दर्भलाई कसले कहिले कसरी निवारण गर्ने ?
तिजका नाममा हुने पार्टीमा सामेल हुन जाने दिदीबहिनी एउटै आर्थिक हैसियत नहुनसक्छन् भनेर किन महिलाकै मनमा आउँदैन ? त्यस्तो परिवारको घरमा आर्थिक रूपमा विकृति बढ्नेतर्फ कसले सोच्ने ? एकातर्फ महिनाभर दर खाने नयाँ पहिरन, गरगहना, अन्य शृंगारका सामग्री कसरी व्यवस्थापन गर्ने ? एउटा मध्यमवर्गीय परिवार त परै जाओस्, उच्च वर्गका नारीहरूलाई पनि व्यवस्थापन गर्न कठिन पक्कै होला । उच्च वर्गलाई खासै फरक नहोला । सालाखाला हिसाबमा हेर्दा तल्लो वर्गलाई यस परम्पराले साह्रै नराम्ररी गाँजेको छ ।


