काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको पहिलो युनिट ९३४ मेगावाट० को परीक्षण उत्पादन सफल भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण भएको आयोजनाको पहिलो युनिटलाई प्रसारण ग्रिडमा जोडेर सोमबार सफल परीक्षण गरिएको हो ।

आयोजनाको विद्युत्गृह बाह्रबिसे नगरपालिका–५ मा रहेको छ । विद्युत्गृहमा रहेका ३४ मेगावाटका ३ वटा उत्पादन युनिट रहेका छन् । सोमबार पहिलो युनिटबाट करिब ५ मिनेट ७ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडेर परीक्षण गरिएको कम्पनीले जनाएको छ ।
अबको करिब एक साताभित्र यी परीक्षण सकिने र सबै परीक्षण सफल भए असोजको सुरुदेखि नै पूर्ण क्षमतामा आयोजनाबाट १५ दिनको परीक्षण उत्पादन सुरु हुने छ । त्यसमा कुनै समस्या नआए असोजको दोस्रो सातादेखि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने छ । आयोजनाको विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने बाह्रबिसे–३ पतालिमा रहेको बाह्रबिसे सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको हो ।
आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगानीको ५ महिना लामो नाकाबन्दी, बाढी, पहिरोलगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । ढिलाइ हुँदा आयोजनाको निर्माण लागत १५ अर्बभन्दा बढी पुगेको छ । आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।
प्रवर्द्धक कम्पनीमा ५१ प्रतिशत संस्थापक सेयरधनीमध्ये चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रो पावर लिमिटेडको १–१ प्रतिशत प्रतिशत सेयर स्वामित्व छ ।


