काठमाडौं । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले आज माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका छन् । बिहान ११ बजेदेखि सुरु हुने प्रदर्शनलाई प्रशासनले अनुमति दिएको छ ।

आयोजकहरूले विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताए । विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।
आन्दोलनलाई लक्षित गर्दै आइतबार जिल्ला सुरक्षा समितिको बैठकले ‘एकीकृत सुरक्षा योजना’ लागू गरेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाका अनुसार प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने आकलन गरिएको छ । माइतीघर क्षेत्रमा प्रहरी, सशस्त्र र अनुसन्धान निकायका सुरक्षाकर्मी परिचालन हुनेछन् ।
युवाहरूले सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाउँदै विशेषाधिकार प्रयोग गर्ने भीआईपी छोराछोरीको विरोध गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने, दुर्गा प्रसाईं, पल साहसहित विभिन्न समूहले प्रदर्शनलाई समर्थन जनाएका छन् ।


