म्याग्दी– रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि आजदेखि परीक्षण उत्पादन थालिएको हो । आयोजनाका आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण थालिएको जानकारी दिए ।
‘निर्माण भएका भौतिक संरचना र जडान गरिएका उपकरणको आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो’, उनले भने, ‘परीक्षणका क्रममा कुनै समस्या नदेखिएकाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छौँ ।’


