काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटकको सिजनमै मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक नदेख्दा आफू खिन्न भएको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश समिति र त्यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरुसहित आज बिहान मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेपछि उहाँले फेसबुक मार्फत् सो धारणा राख्नुभएको हो । उहाँले गतबर्ष यही समयमा विश्वका हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मुक्तिनाथ पुग्दा आन्तरिक तथा बाह्य पर्यटकहरु भरिभराउ देख्दा निकै खुसी लागेको तर आज भने पर्यटकको सिजनमै मुक्तिनाथ र मुस्ताङ क्षेत्र नै सुनसान देखिएकाले आफूलाई दुःख लागेको बताउनुभएको छ ।उहाँले नेपालको विकासको प्रमुख आधार नै पर्यटक भएकाले नेपालको अधिक सम्भावनाका रुपमा रहेको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवर्धन र विकासका क्षेत्रमा लाग्न सबैसमक्ष आग्रह पनि गर्नुभएको छ ।


