काठमाडौँ । दसैँको यात्रा गर्ने माहोलमा नेपालको गृह मन्त्रालयले आगामी असोज १७ देखि २० गतेसम्म (अक्टोबर ३ देखि ६) पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैबिच भारतको मौसम विभागले पनि सीमावर्ती बिहार राज्यसहित छत्तीसगढमा भारी वर्षाको आशंका गर्दै ‘रेड अलर्ट’ जारी गरेको छ, जसको सीधा असर नेपालका तराई जिल्लामा पर्ने देखिएको छ ।

भारतको मौसम विभागका अनुसार बङ्गालको खाडीमा बनेको ‘गहिरो दबाब’का कारण पूर्वी र मध्य भारतको मौसममा ठुलो परिवर्तन आएको छ । भारतमा बिहारका सबै ३८ जिल्ला र छत्तीसगढका २८ जिल्लामा तीव्र वर्षा हुनसक्ने आकलन गरिएको छ । भारतको मध्य प्रदेश, उत्तर प्रदेश, झारखण्ड, ओडिशा र पश्चिम बंगालमा पनि भारी वर्षाको भविष्यवाणी गरिएको छ । यो वर्षाको क्रम ६ देखि ७ अक्टोबरसम्म जारी रहने अनुमान छ । बिहारमा हुने भारी वर्षाको कारण सीमावर्ती नेपालका तराई जिल्लाहरूमा पनि आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिइएको छ ।
बिहारका कतिपय जिल्लामा बिहीबार परेको वर्षाका कारण दुर्गा पूजाका पण्डालहरूमा २ देखि ३ फिटसम्म पानी जमेको खबर सार्वजनिक भएका छन् ।
उत्तरतर्फ हिमपातको उत्साह
एकतर्फ मध्य र पूर्वी भेगमा वर्षाको खतरा बढेको छ भने अर्कोतर्फ उत्तरतर्फ कश्मीर र हिमाचल प्रदेशमा सिजनको पहिलो हिउँ परेको छ ।
कश्मीरमा गुलमर्ग, सोनमर्ग र गुरेजका अग्ला चुचुराहरू हिउँले ढाकिएका छन् । सिजनको पहिलो हिमपात भएपछि भारतमा पर्यटकहरूमा उत्साह देखिएको छ भने स्थानीय बासिन्दाहरूले यसलाई चाडपर्वजस्तै गरी स्वागत गरेका छन् । हिमाचल प्रदेशको काँगडामा पनि बिहीबार रातिदेखि हल्का हिमपात र भारी वर्षासँगै असिना परेको थियो, जसले गर्दा धर्मशालामा न्यूनतम तापक्रम १४ देखि १५ डिग्री सेल्सियससम्म झरेको छ ।
नेपालका पाँच प्रदेशमा उच्च बाढीको जोखिम
नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत गृह मन्त्रालयले आगामी असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले नदीमा जलस्तर बढ्ने चेतावनी दिएको छ ।
प्राधिकरणका अनुसार भारतको बिहारमा भइरहेको भारी वर्षाको प्रभाव स्वरूप नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको छ ।
विशेषगरी, तराईका बारा, पर्सा, सर्लाही, रौतहट, झापा र मोरङ, लगायतका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा पूर्वतयारी र पूर्वकार्यमा जुट्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।
दसैँको यात्रामा विशेष सावधानी
दसैँको माहोलमा यात्रा गर्नेहरुको संख्या बढेको सन्दर्भमा गृह मन्त्रालयले अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ ।
जोखिमलाई ध्यानमा राख्दै, जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्थाको मूल्यांकन गरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । बाढी तथा पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकहरूलाई उँचो र सुरक्षित स्थानबारे जानकारी लिई आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देश दिइएको छ ।


