६ आश्विन २०८१, आइतबार 1726993482
Banner

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख र उपप्रमुखमा एमाले विजयी

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले०का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याउनुभयो ।

उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याउनुभयो । इन्दुदेवी यादव निवर्तमान उपप्रमुख हुनुहुन्थ्यो ।

वडाध्यक्षमा एमाले र कांग्रेसले चार-चार, जसपा र लोसपाले एक-एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ । एमालेबाट वडा-५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कांग्रेसबाट वडा-१ मा प्रितमलाल चौधरी, वडा २ मा रहमान मियाँ, वडा ३ मा भागेश्वर यादव र वडा ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी हुनुभएको छ । वडा-६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई-दुई स्थानीय तह र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक-एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।

अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिनुभएको छ । उहाँलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ््याइ रहनुभएको छ ।