पाल्पा – पहाडी जिल्ला पाल्पामा पनि कलात्मक फल्चा निर्माण गरिएसँगै यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई सहज भएको छ ।
ऐतिहासिक पाल्पा दरबार संग्राहलय नजिकै यात्रु र पैदलयात्रीसहित मान्छेको भीड हुने ठाउँमा फल्चा निर्माण भएको हो । पानि पर्दा ओत, घाम लाग्दा विश्राम र कतिपय सडकमा बस्नेहरुको निद्रा पुर्याउने महत्वपूर्ण ठाउँ फल्चा बनिरहेको छ । लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयको १९ लाख लागतमा फल्चा निर्माण गरिएको पाल्पा दरबार संग्राहलयका लेखा अघिकृत चरनलाल पुरीले जानकारी दिनुभयो । जिल्लाका अन्य ठाउँहरु तानसेनको टुडिखेल, जिल्ला प्रशासन कार्यालय र दरबार परिसर गरि तीन ठाउँमा निर्माण गरिएको फल्चा पाल्पाका लागि नयाँ संरचना हो । काठमाडौंसहितका प्रमुख सहरहरुमा अहिले धमाधम फल्चा निर्माण भइरहेका छन । पहाडी जिल्लाहरुमा पनि पुराना संरचना पौवाहरु थिए । तर अहिले नयाँ ढङ्गले प्रतीक्षालयका रुपमा फल्चाहरु निर्माण हुँदै आएको छन ।
यो पौवाको गरिमाको विषयमा केही आलोचना भए पनि आधुनिकताका नाममा पुराना कला र संस्कृतिहरु लोप हुँदै गएपछि पौवाको ठाउँमा फल्चा निर्माण गरिएको पुरातत्व विद्हरुको भनाई छ ।


