
काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ ।हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ । इमान्दार र घरको रक्षकको रुपमा कुकुरलाई आज माला लगाइदिने, रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।

पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारको दिन सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग मार्ग प्रशस्त हुने विश्वास गरिएको छ । द्वापर युगमा पाण्डवहरू स्वर्गारोहणको क्रममा धर्मराज युधिष्ठिरलाई एक कुकुरले साथ दिई स्वर्गको ढोकासम्म पुर्याएको प्रसङ्ग पनि उल्लेख गरिएको छ, जसले कुकुरको निष्ठा र पवित्रताको प्रतीक दर्साउँछ ।
ऋग्वेदमा ‘समरा’ नामकी कुकुर आमाको कथा उल्लेख छ, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन् । त्यसैले वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजको सन्देशवाहकको रूपमा सम्मान गरिन्छ । मृत्युपर्यन्त मोक्षको द्वारमा पनि कुकुरले पहरा दिने उल्लेख ग्रन्थहरूमा पाइन्छ ।
कुकुर आज्ञाकारी, वफादार र घरको पहरेदार जनावर हो । अपराध पत्ता लगाउनेदेखि भूकम्प वा विपत्तिको पूर्व सूचना दिने क्षमतासम्मका कारण कुकुरलाई ‘भैरवको वाहन’ पनि भनिन्छ । सत्यवादी युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने सौभाग्य पाएको कुकुरप्रति कृतज्ञता र सम्मान स्वरूप वर्षमा एक पटक आजको दिन कुकुर तिहारका रूपमा मनाइन्छ ।
आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ ।
यो वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आजै साँझ लक्ष्मीपूजा पनि मनाइँदै छ ।


