
महोत्तरी । तिहार पर्वको समापनसँगै बिहीबारदेखि तराई मदेससहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ ।मिथिलाको प्रमुख पर्वको रूपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउहरूमा तयारी सुरु भएको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए । सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले बताए ।

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीहरू यस पर्वलाई धूमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।
सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए।
जलेश्वर नगरपालिका–१स्थित बरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल–ठूला पंडाल, रंगीचङ्गी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताए। यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरूमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए ।
तराई मधेसका बजारमा छठ पूजाको लागि चाहिने पूजा तथा प्रसाद सामग्री, माटोका तथा अन्य भाडाँवर्तन, लत्ता कपडा लगायतको किनमेल बढेको छ। अदुवा, मुला, केरा, माटोका भाडा र बाँसको चोयाबाट बनेका सामाग्रीहरु बिक्रीका लागि राखिएका छन् । छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा पानीसहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, बोटसहितको अदुवा, स्याउ, केरा, सुन्तला, सिजनका फलफूल र तरकारीहरू हुन् ।
छठ पूजामा खास गरी सूर्य भगवान र छठी माताको पूजा आरधाना गरिन्छ। कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथीबाट छठ पूजाको व्रत प्रारम्भ हुन्छ।
पहिलो दिन चौथी तिथीका दिन बिहान व्रतालुहरू घर नजिकको ताल, पोखरी वा नदिमा गई नहुाइधुवाइ गरी चोखो भइ प्याज र लसुनसमेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्वीक भोजन ग्रहण गर्छन्। यस दिनलाइ भोजपुरी र मैथली भाषामा नहाए खाएके दिन भनिन्छ।
दोस्रो दिन भोलिपल्ट पञ्चमीका दिनलाइ खरना र रसियाव रोटीको दिन भन्ने गरिन्छ। यस दिन साँझ पख माटाले बनाइएको नयाँ एंव चोखो चुल्होमा व्रतालुहरूले आँपको रुखको दाउरा बालेर त्यसमा गुण (भेली) र चामल मिसाएर बनाइएको खीर (रसियाव) र गहुको पिठोबाट बनाइएको रोटीको प्रसाद तयार पार्दछन्।
चौथीका दिनदेखि उपवास बसेका व्रतालुहरूले उक्त प्रसाद (रसीयाव र रोटी) चुल्होकै छेउमा अग्नि (आगो) मा चढाएर छठी माताको पूजा आरधान गर्छन्।
त्यसपछि प्रसादको केही अंश गाईलाइ खुवाएपछि बाँकी प्रसाद आफूले ग्रहण गरी परिवारका सदस्यहरूलाइ खान दिन्छन्। रसीयाव र रोटीको प्रसाद ग्रहण गरेपछि व्रतालुको ३६ घण्टे निराहार र निर्जल उपवास सुरु हुन्छ।
मधेसका संस्कृतिविद् उमांकर द्विवेदी भन्छन्, ‘छठ पर्व कठोर तपस्याको पर्वको हो, यो पर्व अवधिमा धार्मिक विधिमा थोरै पनि चुक नहोस् भनेर व्रतालु मात्र नभई घरपरिवारका सबै सदस्य अत्यन्त सजग हुन्छन्, खानपानदेखि घरको सरसफाइसम्म हरेक ससाना कुरामा पनि निक्कै ध्यान दिने गरिन्छ।
खरनाको भोलिपल्ट अर्थात षष्ठी तिथिको दिनलाइ छठ पर्वको मुख्य दिन मानिन्छ। यस दिनलाइ सँझिया घाटे भनिन्छ।
त्यस दिन व्रतालुहरू दिउँसोको समयमा नुहाइ धुवाइ गरी नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि, पोखरी, तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन्। घरपरिवारका सबै सदस्य पनि नुहाइधुवाइ गरी चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुग्छन्।
छठीघाटमा चोखो माटाले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर व्रतालुहरूले छठी माता र सूर्यभगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन्। त्यसपछि साँझ पख अस्ताउँदै गरेका सूर्य भगवान र छठी मातालाइ व्रतालुहरूले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछता, पात सहितको मूला लगायतका फलफूल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन्। सूर्य अस्त पछि व्रतालुहरू छठी माताको पारम्परिक गीत गाउँदै आआफनो घर फर्किन्छन्।
षष्ठीको बेलुकी छठ पूजा गरिएका घरमा कोशी भर्ने (माटोको कलश र हात्ती आकृतिको मूर्तिको पूजा) चलन पनि छ। यो सबै व्रतालुलले गर्दैनन्। जसले भाकल गरेको हुन्छ, उसैले षष्ठीका दिन बेलुकी घरको आँगनमा कोशी भर्ने गर्छन्।
कोशीका लागि घरको आँगनमा नौ वा १३ वटा हरियो उखु (पात सहितको ) लाई मुठा बनाएर फेदको पातको तल चोखो वस्त्रले बाधेर उल्टो पिरामिडको आकारमा छठ्याइन्छ। उखुको बिचमा माटाले बनाइएको कलश र हात्तीको आकृतिको मूर्ति राखन्छ।
हरेक उखुको फेदमा माटोको ढकनी राखेर त्यसमा छठीमाताका लागि बनाइएको प्रसाद र फलफूलहरू राखिन्छ। यस्तै ती प्रत्येक ढकनीमा माटोको दियो बालेर पनि राखिन्छ।
त्यसपछि व्रतालु र घरपरिवारका साथै छरछिमेकले उखु ठडयाइएको स्थानलाइ तीन वा पाच पटक परिक्रमा गर्दै धुप तथा जल अर्पण गर्दै भुइँमा शिर छुवाएर पूजा आरधाना गरिन्छ। त्यसबेला महिलाहरूले छठीमाताको पारम्परिक गीत पनि गाउँदै आर्शीवाद माग्छन्।
षष्ठीको मध्यरातमा परिवारका पुरुष सदस्यहरूले कोशीमा पूजा गरिएको उखु र पूजन सामग्री एंव प्रसाद लिएर छटघाट बनाइएको जलाशय छेउमा लिएर जान्छन्। त्यहाँ पनि आँगनमा गरिएको विधि जस्तै उखुलाइ छठयाएर दियो र धुप बाली पूजापाठ गरिन्छ।
त्यसपछि कोशी (माटाको कलश र हात्ती आकृतिको मूर्ति) जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिई उनीहरू घर फर्किएपछि छठको निराहार निर्जल व्रत लिएका रातिको तेस्रो प्रहरमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी चोखो भई पुजा सामग्री र प्रसाद लिएर सूर्योदय नहुँदै छठ घाटमा पुग्छन्।
सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि छठी मातासँग अनुनय विनय गर्छन्।
सप्तमी तिथिका दिन बिहान सूर्योदयभन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठघाटको जलशायमा पस्छन् र सूर्योदय हुने क्रममा उनीहरूले सूर्य र छठीमातालाइ अर्घ दिन्छन्।
सूर्यलाइ अर्घ दिए पछि छठघाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दुर लगाई दिन्छन्।
त्यसपछि उनीहरू आआफनो घर फर्किन्छन्। उदाउँदो सूर्यलाइ अर्घ दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ। यस दिनलाइ परना भन्ने चलन छ।


