काठमाडौं : सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् ।
बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।


