विराटनगर । मोरङ उद्योग व्यापार संघले विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । संघले पुस ९ देखि १९ गतेसम्म शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालय छेउको क्षेत्रमा एक्स्पो गर्ने तयारी गरेको हो ।

संघले आर्थिक गतिविधि सुदृढ बनाउने उदेश्यले एक्स्पो गर्न लागेको संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जेनजी आन्दोलनपछि घटेको आर्थिक गतिविधिलार्ई पुनः गतिमा ल्याउन एक्स्पो महत्वपू्र्ण हुने दाबी गरिएको छ ।
एक्स्पोमा कृषि, पर्यटन, ऊर्जा तथा स्वदेशी उत्पादनको प्रवद्र्धन मुख्य प्राथमिकता रहने आयोजकले जनाएको छ ।
साथै नेपाल व्यापार रणनीतिअनुसार पहिचान गरिएका वस्तुहरूको बजार विस्तारमा पनि मेला उपयोगी हुने दाबी गरिएको छ ।करिब २३० स्टल रहने एक्स्पोमा जर्मन प्रविधिको ‘ह्याङ्गर’ तथा अत्याधुनिक अक्टानम सिस्टम प्रयोग गरिनेछ। नेपालका साना, मझौला तथा ठूला उद्योगका उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका वस्तुहरू पनि प्रदर्शित गरिनेछन् ।
परम्परागत व्यापार मेलाको ढाँचा तोड्दै ज्ञान, प्रविधि र उद्यमशीलतालाई केन्द्रमा राखिएको आयोजकले जनाएको छ। स्टार्टअप तथा सूचना प्रविधि, कर–लेखा प्रणाली र महिला उद्यमशीलता प्रवद्र्धनका विशेष स्टल राखिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी साइबर सुरक्षा, डिजिटल व्यवसाय विस्तार, पर्यटन प्रवद्र्धन रणनीति जस्ता विषयमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ ।
दर्शक आकर्षणका लागि राष्ट्रिय कलाकार तथा ब्यान्डहरूले हरेक साँझ प्रस्तुति दिनेछन् । त्यसमध्ये कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन र उज्जेन शाक्य प्रमुख रहनेछन् ।
मेलामा सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल जस्ता विशेष आकर्षण रहने छन् । साथै नेपाली कला–संस्कृतिलाई उभ्याउने आधुनिक प्रवेशद्वार निर्माण गरिनेछ ।
‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ मुख्य प्रायोजक रहेका एक्स्पोले ‘कोशी पर्यटन वर्ष २०८२’ सफल बनाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।
मोरङ तथा भारत–नेपाल सीमावर्ती क्षेत्रबाट करिब दुई लाख दर्शक एक्स्पोमा आउने अनुमान गरिएको छ ।
मोरङ उद्योग व्यापार संघले यसअघि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला, विराट महोत्सवजस्ता कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ ।


