काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको प्यानलबाट उपाध्यक्ष बन्न अस्वीकार गरेका छन् । उपाध्यक्ष पद अस्वीकार गरेका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गरेका स्रोतको भनाइ छ । ‘उहाँले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छैन । केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएर निस्कनुभएको छ,’ स्रोतले भन्यो ।
उनी अध्यक्ष केपी ओलीको प्यानलबाट महासचिव पदको आकांक्षी रहेका थिए । तर उक्त पद नपाउने भएपछि असन्तुष्ट बनेका हुन् । ओलीको प्यानलबाट महासचिव शंकर पोखरेलले नै महासचिवमा निरन्तरता पाएका छन् । ज्ञवालीलाई ओलीले उपाध्यक्ष पदमा मनाउन बिहान आफ्नै निवास गुन्डुमा प्रयास गरेका थिए ।
तर महासचिवबाहेक अन्य पदमा नउठ्ने ज्ञवालीले अडान राखेका थिए । उनी दिउँसो महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिई बन्दसत्र हलमा प्रवेश गरेका थिए । ओलीकै पक्षमा रहेका नेताहरूले विद्रोह गर्न थालेपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको थियो ।


