काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै एउटै व्यक्तिले कति पटक नेतृत्वमा दाबी गर्ने भन्दै प्रश्न उठाएका छन्। राजधानीको भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनका क्रममा मंगलबार पत्रकार सम्मेलन गर्दै भट्टराईले अध्यक्ष ओलीले विधानतः तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएको देखिए पनि व्यवहारतः यो उनको चौथो पटकको प्रयास भएको टिप्पणी गरे।
उनले भने, ‘उहाँ (ओली) ले तेस्रो कार्यकालका लागि नोमिनेसन दिनुभयो, तर उम्मेदवारी दर्ताको हिसाबले यो चौथो पटक हो। आठौं, नवौं, दशौं र अहिले एघारौं महाधिवेशनमा उहाँले अध्यक्षमा नोमिनेसन फारम दर्ता गर्नुभयो। हाम्रो प्रश्न यही हो– एउटा नेताले, एउटा व्यक्तिले कति पटक एउटै पदमा उम्मेदवारी दरखास्त दिने ?’ भट्टराईले पार्टीभित्र दुई कार्यकालको प्रणालीलाई पुनर्स्थापित गर्न खोजिए पनि अहिले सम्भव नभएको बताउँदै भविष्यमा एमाले सोही बाटोमा जानुपर्नेमा जोड दिए।
महाधिवेशनमा अध्यक्ष ओली पक्षबाट बाँडिएको सूची (प्यानल) तर्फ संकेत गर्दै भट्टराईले मुख्य नेतृत्वबाटै समूहबन्दी भएपछि अब गुटबन्दी गर्न नपाइने भन्ने नैतिक बन्धन सकिएको बताए। ‘पार्टीको मुख्य नेतृत्वबाटै समूहबन्दी हुन्छ भने त्यो त सबैलाई छुट भयो, बाटो खुला भयो,’ भट्टराईले भने, ‘बाटो खुला भएपछि त्यहाँ जसले पनि गाडी चलाउन पायो। ट्राफिक नियम त हुन्छ, त्यो पालना गरेर गाडी चलाउनुपर्ला।’
उनले निर्वाचन आयोगले आचारसंहितामार्फत समूहगत प्रचारमा रोक लगाए पनि पार्टीको आधिकारिक जस्तो देखिने गरी लिस्ट सार्वजनिक हुनुले समूहकै भावना बोकेको तर्क गरे। ‘तपाईंहरूको भाषामा गुट भन्नुस् वा मेरो भाषामा समूह, तर नेतृत्वबाटै यस्तो आएपछि अब प्रतिस्पर्धा खुला हुनुपर्छ,’ उनले भने।
भट्टराईले विगत महाधिवेशन र अहिलेको परिस्थिति फरक रहेको भन्दै अब पार्टीलाई लोकतान्त्रिक विधिबाटै अघि बढाउनुपर्ने बताए। ‘विगतका अभ्यासभन्दा यो महाधिवेशनले नयाँ अभ्यास गर्नेछ,’ उनले भने, ‘महाधिवेशन नेतृत्व चयनको थलो हो। यहाँबाट नेतृत्वको हस्तान्तरणको सहज प्रक्रिया अगाडि बढ्नुपर्थ्यो, तर त्यो महाधिवेशन अगाडिका प्रक्रियाबाट सम्भव भएन। अब निर्वाचनकै प्रक्रियाबाट नेतृत्व हस्तान्तरण हुनुपर्छ।’
उनले ईश्वर पोखरेलले नेतृत्वको सम्मानजनक व्यवस्थापनसम्बन्धी अवधारणा पत्र ल्याएको र त्यो पार्टीको जीवनका लागि महत्त्वपूर्ण दस्तावेज भए पनि त्यसलाई औपचारिक छलफलमा नल्याइएको गुनासो गरे। मतदान प्रक्रिया लम्बिएको सन्दर्भमा उनले प्राविधिक तयारी र नाम सच्याउने काम भइरहेकाले केही ढिला भएको बताए।
‘हामीलाई निर्वाचन गराउनुपर्ने बाध्यता छ। राति मतदान नगर्न आग्रह आए पनि जतिखेर पनि मतदान सुरु गर्नुपर्छ भनेर हामी लागिपरेका छौं,’ उनले भने। भट्टराईले एमालेलाई अब नयाँ विचार र नयाँ नेतृत्वका साथ अघि बढाउनुपर्ने र पार्टी भित्रको लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्नुपर्नेमा जोड दिए।


