काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५/५ जना प्रतिनिधि राखिएको छ ।
हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुइवटै उम्मेदवारको तर्फबाट ५’५ जना प्रतिनिधि राखेका छौं,’ उनले भने ।
ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा २ र अरु प्राविधिकको रुपमा २ जना पनि राखिएको उनले बताए । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेसिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भने ।
प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने उनले जानकारी दिए । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।


