काठमाडौँ । सर्वोच्च अदालतको तीन वटा इजलासमा आइतबार २ सय ५६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाको पेसी तोकिएको छ । पेसी तोकिएकोमध्ये न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गत भदौ २४ मा भएको आगजनीका कारण बैंकिङ कसुरको १ सय २२ वटा मुद्दाको मिसिल जलेकाले मिसिल प्राप्तिको आदेश दिएको छ ।
त्यस्तै न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रहेको गोपाल प्रसाद तिमिल्सेनाको बैंकिङ कसुरको मुद्दा हेर्न नमिल्नेमा राखिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र मेघराज पोखरेलको संयुक्त इजलासमा मात्रै १२३ वटा मुद्दा छन् । पेसी तोकिएका मध्ये १२ वटा मुद्दाको मिसिल जलेका छन् ।
यीमध्ये एउटै व्यक्तिका धेरै वटा मुद्दा हुँदा र धेरैजसो बैंकिङ कसुरको पेसी सोही इजलासमा परेकोले धेरै वटा मुद्दा देखिएको हो । प्रधानन्यायाधीश राउत र न्यायाधीश पोखरेलको इजलासमा रहेको बैंकिङ कसुरको मुद्दामा चिरन बादे श्रेष्ठ र अखिल देवकोटाले संयुक्त रूपमा दिएको ३० वटा मुद्दा सुनुवाइका लागि पेसीमा राखिएको छ । उनीहरूले नेपाल सरकारलाई विपक्षी बनाएर रिट दिएका थिए ।


