२५ भदौ २०८३, बिहिबार 1789078127
समाचार

वडा कार्यालयलाई एक करोडको जग्गा दान

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् ।

छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो ।

अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनकका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् ।

“साविक हिस्तान गाविसको साविक पाँचवटै टोलको भेलाबाट सहमति जुटाई तीन वर्षअघि उहाँहरुले जग्गा दानको घोषणा गर्नुभएको थियो, जुन अहिले प्रक्रिया पूरा गरिएको हो”, उनले भने, “गाउँपालिकाले रु एक करोड ३९ लाख लागत अनुमानको हिस्तान वडा कार्यालय भवन निर्माणका लागि आइतबार ठेक्का आह्वान गरेको छ ।”