विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा भेलामा आगामी निर्वाचनको वातावरणलाई लिएर संघीय सरकार र प्रदेश सरकारको नेतृत्वबिच मतभेद देखियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चुनावको वातावरण अझै नबनेको दाबी गरेन भने संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताए ।
सुरक्षा भेलामा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा अझै चुनावी वातावरण तयार भइनसकेको बताएका छन् । प्रहरीको मनोबल उठ्न नसकेको र सुरक्षा थ्रेटहरू कायमै रहेको भन्दै उनले हतारमा गरिने निर्वाचनले देशलाई अर्को मुठभेडतर्फ धकेल्ने चेतावनी दिए ।
मुख्यमन्त्री कार्कीले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउँदै भने, ‘सिडिओ र प्रहरी प्रमुखहरूले आदेश कसरी पालना गर्छन् भन्ने अझै प्रष्ट छैन । जेनजी समूहहरूले उम्मेदवार बन्न र भोट माग्न नदिने धम्की दिइरहेका छन् । यस्तो अवस्थामा निर्वाचन सुरक्षा भरपर्दो हुन सकेको छैन ।’ उनले सुरक्षाको वातावरण मजबुत नबनाई चुनाव गराउँदा नेपाल फेरि असुरक्षित छ भन्ने सन्देश जाने र देश थप धराशायी हुने बताए ।
गत भदौ २३ र २४ गते देशभर भएका ध्वंसात्मक गतिविधिहरूलाई मुख्यमन्त्री कार्कीले ‘साम्राज्यवादको नयाँ रूप’ को संज्ञा दिए । उनले उक्त घटनालाई राज्यको सुरक्षा संयन्त्र फेल भएको दुर्लभ क्षणको रूपमा चित्रण गरे । ‘एकै समयमा देशभर झण्डा बोकेर संरचना भत्काइनु, जेलबाट अपराधी भगाइनु र हतियार लुटिनु चानचुने घटना होइनन्,’ उनले भने, ‘हामी सबैका संयन्त्र फेल भए, हामी नै भाग्न बाध्य भयौँ । यसले शान्ति सुरक्षा हाम्रो नियन्त्रणमा नरहेको पुष्टि गर्छ ।’ यति मात्र नभई, मुख्यमन्त्री कार्कीले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई ‘गैरकानुनी’ भन्दै आलोचना समेत गरे ।
मुख्यमन्त्री कार्कीले सुरक्षा चुनौती र वातावरणको अभाव औंल्याइरहँदा कार्यक्रमका प्रमुख अतिथि एवं संघीय गृहमन्त्री ओमप्रकाश अर्यालले भने तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे । उनले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसबाट पछि हट्न नसकिने स्पष्ट पारे ।
गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन घोषणा भएपछि सबै काम तालिका अनुसार नै अघि बढिरहेका छन् । सबै दलबाट प्रतिबद्धता आइसकेकाले चुनाव हुनेमा कुनै द्विविधा छैन ।’ उनले प्रदेश सरकारलाई पनि सक्रियतापूर्वक निर्वाचनको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । सातै प्रदेशका प्रमुख सचिवहरूको नेतृत्वमा प्रदेशस्तरीय निर्वाचन सुरक्षा सेल निर्माण हुने जानकारी दिँदै उनले प्रदेश सरकारले आफ्नो सुरक्षा अधिकार सक्रियतापूर्वक प्रयोग गर्नुपर्ने बताए ।
गृहमन्त्री अर्यालले सुरक्षा निकायको मनोबल उच्च रहेको र सरकारले सुरक्षा व्यवस्थालाई मजबुत बनाइरहेको दाबी गरे । उनले वर्तमान सरकार दिन गनेर बस्ने नभई जिम्मेवारी पूरा गर्न लागिपरेको समेत दाबी गरे ।
तर कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सुरक्षा चुनौती कायमै रहेको बताए । उनले ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार, भागेका कैदीबन्दी र समाजमा बढ्दो असन्तुष्टि चुनावका लागि मुख्य चुनौती भएको औंल्याए । उनले संघीय सरकारलाई सुरक्षा अधिकार प्रत्यायोजन गर्न र प्रदेशलाई थप जिम्मेवारी दिन आग्रह गरे । सुरक्षा भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रशासन प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता थियो ।


