काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न हुन चाहने मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले चुनावी प्रक्रियातर्फ मुलुक अघि बढिरहेका बेला मन्त्री पद र सक्रिय राजनीति सँगसँगै चल्न नसक्ने स्पष्ट पारेकी हुन्।
बैठकमा प्रधानमन्त्रीले वर्तमान परिस्थितिलाई संवेदनशील भन्दै सरकारको तटस्थता र विश्वसनीयता कायम राख्न मन्त्रीहरूले आफ्ना अभिप्राय स्पष्ट गर्नुपर्ने धारणा राखिन्। चुनावमा जाने वा दलगत गतिविधिमा सक्रिय हुने चाहना भए तत्काल जिम्मेवारी हस्तान्तरण गर्नु उपयुक्त हुने उनको भनाइ थियो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले “सरकारले अहिलेसम्म राम्रो काम गरेको छ, तर अब निर्वाचनको चरण सुरु हुँदैछ, यस्तो अवस्थामा मन्त्री स्वयं राजनीतिक मैदानमा देखिन थाले निष्पक्षतामाथि प्रश्न उठ्छ” भन्ने सन्देश दिएकी थिइन्।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारले काम गरिरहेको सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङको राजनीतिक सक्रियताप्रति बैठकमा विशेष चासो व्यक्त गरिएको थियो। घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टी र त्यसको रास्वपासँगको एकतापछि उनी राजनीतिक कार्यक्रममा देखिँदै आएका छन्।
सरकार गैरदलीय भनिए पनि मन्त्रीहरू खुला राजनीतिमा देखिन थालेपछि आलोचना बढ्दै गएको छ। यसले आगामी निर्वाचनको निष्पक्षतामाथि समेत आशंका पैदा गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेको स्रोतको भनाइ छ।


