२३ भाद्र २०८१, आइतबार 1725836201
पर्यटन

उदयपुरको रौता पोखरी क्षेत्रमा लगानी बढाउँदै व्यापारी

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका-६ मा पर्ने धार्मिक पर्यटकीय क्षेत्र रौतापोखरीमा व्यापारीहरुले लगानी बढाउन थालेका छन् । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतिसँगै व्यापारीले लगानी बढाउन थालेका हुन् ।

सडक स्तरोन्नतिले दैनिक जसो आन्तरिक र बाह्य पर्यटकको आवतजावत हुन थालेपछि व्यापारीले ठूला लगानीमा आकर्षक र सुविधा सम्पन्न होटेल बनाउन सुरु गरेका छन् । रौतामाई गाउँपालिका-६ मा रहेको रौतापोखरी हिन्दु धर्मको धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित छ ।

पर्यटकीय गन्तव्य केन्द्र बनेको रौतापोखरीमा भर्खरै दुई व्यापारीले रु.२ करोड २५ लाखको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा ल्याइएका छन् । दुई दर्जन व्यापारीले जग्गा खरिद गरी होटेल तथा रिसोर्ट खोल्ने तयारी गरेको वडाध्यक्ष तिलकुमार रानाले बताउनुभयो ।