महेन्द्रनगर (धनुषा), ३० पुस । मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा सुनिलरञ्जन सिंहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित विशेष समारोहमा डा सिंहलाई शपथ गराउनुभएको हो ।
मधेश प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णको उपस्थितिमा समारोहमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो । शपथपश्चात् डा सिंहले संविधान र प्रचलित कानुनको पूर्णपालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श र प्रभावकारी बहस प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले न्यायिक प्रणालीलाई थप सबल बनाउँदै सुशासन र विधिको शासनलाई कार्यसम्पादनको मूलआधार बनाइने बताउनुभयो । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार शपथ ग्रहणसँगै डा सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार सम्हाल्नुभएको छ ।


