काठमाडौँ, ४ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानमार्फत देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पु¥याएको योगदान प्रशंसायोग्य रहेको बताउनुभयो ।
यसले राष्ट्रिय विकास र आर्थिक समृद्धिमा पनि टेवा पुगेको उहाँको भनाइ थियो । उपराष्ट्रपति यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस्तो अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिनुभयो । पर्याप्त ऊर्जाविना मुलुकको विकास सम्भव नहुने भन्दै उहाँले सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत पुग्ने बताउनुभयो । नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बङ्गलादेशलगायत छिमेकी मुलुकमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्नसक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई ‘लोडसेडिङ’मुक्त बनाउँदै विद्युत् निर्यात गर्ने अवस्थामा पु¥याएको बताउनुभयोे ।
उहाँले हाल नेपालको कुल विद्युत् उत्पादन करिब चार हजार मेगावाट पुगेको र यसमध्ये तीन हजार ३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदानबाट सम्भव भएको उल्लेख गर्नुभयो । मन्त्री सिन्हाले पाँचदेखि १० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा हाल एक सय मेगावाटभन्दा ठूला आयोजनासम्म लगानी गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले हाल देशभर ९०० भन्दा बढी जलविद्युत् आयोजनाले अनुमति लिएर काम अघि बढाइसकिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।


